• ८ मंसिर २०८१, शनिबार

सोह्रबुँदामा रुम्जाटार

blog

चर्चा नम्बर–१

रुम्जाटार नेपाली जनजिब्रोले उच्चारण गरिरहने ठाउँ । रुम्जाटार नपुग्नेले समेत रुम्जाटारको उच्चारण गरिरहेकै हुन्छन् । ‘घुमिफिरी रुम्जाटार’ भन्ने नेपाली उखान त्यत्तिकै प्रचलित छ । प्रचलित उखानले रुम्जाटारलाई चिनाउन सघाएको छ ।

चर्चा नम्बर–२

“प्रचलित उखानले रुम्जाटारको निःशुल्क विज्ञापन गरिरहेको छ ।” त्यतिबेला पङ्क्तिकारले रुम्जाटारमा भेटेका साबिक रुम्जाटार गाउँ विकास समितिका पूर्वअध्यक्ष सीताराम गुरुङले दुःखेसो पोखेका थिए, “त्यही उखान कतिपय अवस्थामा असफलताको द्योतक मानिन्छ ।” 

चर्चा नम्बर–३

रुम्जाटारसँग राडीपाखी जोडिएर आउँछ । यहाँ उत्पादित राडीपाखी संसारमै कहलिएका छन् । पाहुनापाछा आउँदा अतिथि सत्कारका लागि ओछ्याइने यहाँको राडी नेपालमा मात्रै होइन, अमेरिका, जर्मनी र जापानसम्म निर्यात गरिन्छन् । यहाँ उत्पादित राडीपाखी प्रतिगोटा पाँच सयदेखि १० हजार रुपियाँसम्ममा बिक्री हुन्छन् । 

चर्चा नम्बर–४

स्थानीय गुरुङ समुदायले रुम्जाटारमा दुई सय वर्षअघिदेखि भेडा पाल्न थालेका हुन् । उनीहरूले राडीपाखी बुन्न थालेको पनि त्यति नै भयो । यहाँ उत्पादित राडीपाखी त्यति बेला राजदरबारसम्म पु¥याइन्थ्यो । रुम्जाटारको राडीपाखीको चर्चा दरबारसम्म चल्थ्यो ।

चर्चा नम्बर–५

दुई सय वर्षअघि अतिथि सत्कारका लागि राडी ओछ्याइने घर र घरमूलीको इज्जत गरिन्थ्यो । एक अध्ययनको निष्कर्ष छ, “राडी ओछ्याएर नियमित सुत्ने गरेमा डाइबिटिज र बाथरोग बिसको उन्नाइस हुँदै जान्छ ।” हिउँदमा तराईका जङ्गल र बर्खामा हिमालको काखैकाख चराइने भएकाले यहाँका भेडाले अत्यधिक मात्रामा जडीबुटी खान पाउँछन् । जडीबुटी खाएका भेडाको ऊनबाट उत्पादित राडीपाखी ओछ्याएर सुत्दा डाइबिटिज र बाथरोगी लाभान्वित हुने नै भए । स्वस्थ मानिसका लागि पनि राडीपाखी उत्तिकै फलदायी मानिन्छ । 

चर्चा नम्बर–६

त्यति बेला राजदरबार र रुम्जाटारको सम्बन्ध सुमधुर थियो । त्यसको प्रत्यक्ष उदाहरण राजा महेन्द्रलाई लिन सकिन्छ । संवत् २०१३ फागुन ६ गते राजा महेन्द्र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४, रुम्जाटार पुगेका थिए । त्यति बेला राजा महेन्द्रले रुम्जाटारमा दुई रात बिताए ।

चर्चा नम्बर–७

पूर्वाञ्चल भ्रमण क्रममा राजा वीरेन्द्रले समेत रुम्जाटार टेके । “राजा वीरेन्द्र रुम्जाटार आउँदा ‘वेलकम रुम्जाटार’ लेखिएको राडी उपहार दिएका थिएँ,” स्थानीय प्रेमकुमार गुरुङले विगत सम्झे, “उपहारस्वरूप राडी दिँदा राजा वीरेन्द्रले छ हजार रुपियाँ दिएको हिजै जस्तो लाग्छ ।”

चर्चा नम्बर–८

रुम्जाटारकी मेलवादेवी गुरुङ चन्द्रशमशेरको तालिमे नानीका रूपमा दरबार पसेकी थिइन् । नेपालको पहिलो महिला गायिका गुरुङलाई ‘ठुमरीकी रानी’ पनि भनिन्छ । 

चर्चा नम्बर–९

स्थानीय चम्पा सिंहकी कान्छी दिदी त्रिभुवनको कान्छी रानीसाहेब हुन् । 

चर्चा नम्बर–१०

रुम्जाटारकै रम्बा गुरुङ (गुरुङलाई दरबारमा गीता गुरुङ र पछि मनकुमारी शाह भनेरसमेत चिनाइयो) राजा महेन्द्रकी पहिलो रानी बनिन् । तर अवैध मानिइन् । महेन्द्र र रम्बाबाट जन्मेका रवीन्द्र शाह वीरेन्द्रभन्दा जेठो भए पनि राजा हुन पाएनन् ।

चर्चा नम्बर–११

रुम्जाटारकी हैया नानी राजा वीरेन्द्रकी धर्मआमा थिइन् । 


चर्चा नम्बर–१२

राज्य एकीकरण  क्रममा यहाँका किरात राजालाई युद्धमा हराएर विस्थापित गरिएपछि रुम्जाटरमा गुरुङ समुदायले बसोवास गर्न थालेका थिए ।

चर्चा नम्बर–१३

संवत् १९०० तिर जोसमुनि मत प्रचार गर्दै ज्ञानदिल दासले रुम्जाटारमै बसेर ‘उदयलहरी’ लेखेका थिए । उनले लेखेका रुम्जाटारसँग सम्बन्धित टुङ्गा भजन पनि उत्तिकै चर्चामा रहेको छ । चर्चित टुङ्गा भजन यस्तो थियो– रुम्जाटारको कोदोको पिठो निर्गुणको दाउन ज्ञानगुणजति गुरुङले लगे

छक्क प-यो बाहुन

चर्चा नम्बर–१४

समुद्र सतहदेखि चार हजार पाँच सय फिट उचाइमा रहेको रुम्जाटारमा पहिले रुम्दाली राईको बसोबास रहेको थियो । रुम्दाली राई बसोबास गर्ने भएकाले रुम्जाटारलाई पहिले रुम्दाटार भनिन्थ्यो । रुम्दाटार अपभ्रंश हुँदै बोलीचालीमा सजिलोका लागि रुम्जाटार भन्न थालियो । 

चर्चा नम्बर–१५

रुम्जाटारको दुई सयवर्षे इतिहास मेटिँदै जान थालेको छ । गुरुङ समुदायका पछिल्ला पुस्ताले पुर्ख्यौली व्यवसायलाई निरन्तरता दिन छाडेका छन् । औँलामा गन्न सक्नेले मात्रै सुख–दुःख पुख्र्याैली व्यवसाय धानिरहेका छन् । “कसैलाई पुर्ख्यौली व्यवसाय त्याग्न गाह्रो । कसैलाई अँगाल्न,” स्थानीय प्रेमकुमार गुरुङको ठम्याइ थियो, “पुर्ख्यौली व्यवसाय धराप परेपछि राडीपाखी बुन्दा चाहिने राटा, चर्खा, ऊन फर्काउने, कात्ने, राडी फर्काउने सामग्री कामै नलाग्ने भइसकेका छन् । रुम्जाटार आइपुगेकाले सोधपुछ गर्दा ती सामान देखाउनुबाहेक कामै लागेन ।” सोध्दै खोज्दै रुम्जाटार पुगेकाले भेडीगोठ हेर्न खोज्छन् । कोही भेडीगोठाला । कसैले चरीचरनबारे सोधेर हैरान पार्छन् । चरीचरन अभाव र उन्नत जातका भेडापालनले निरन्तरता नपाउँदा रुम्जाटारका नामी राडीपाखी भनेर कहलिए पनि उत्पादन घट्दै गएको छ । “हाम्रो घरेलु उद्योगले प्रोत्साहन पाएन,” प्रेमकुमार गुरुङले गुनासो गरे, “त्यसैले दुई सय वर्षभन्दा लामो हाम्रो व्यवसाय धरापमा प¥यो ।” 


चर्चा नम्बर–१६

ठोट्नेखोला र सिस्नेखोला अविरल बगिरहेका छन् । ठोट्ने र सिस्ने रुम्जाटारको करेसाबाटै बगे जस्तो देखिन्छ । आँगनमै हवाई मैदान । रुम्जाटारको ओल्लो छेउदेखि पल्लो छेउसम्म गुरुङ समुदायको बाहुल्य । सुन्तलाको लोकप्रियता उस्तै । यहाँको रातोमाटोमा फलेको सुन्तलाको स्वाद पुससम्म चाख्न पाइन्छ । 

   

लेखक बाट थप