• १६ चैत २०८०, शुक्रबार

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा सुनुवाइ जारी

blog

काठमाडौं, जेठ २६ गते । सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दर्ता भएको रिटमाथि सुनुवाइ जारी रहेको छ । आज सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ जारी रहेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको थियो । राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको उक्त नागरिकता विधेयक संविधानको भावना र मर्म विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र डा. सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

सर्वोच्चमा जेठ १९ गते दर्ता भएको उक्त रिटमाथि जेठ २१ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उक्त ऐन कार्यान्वयन नगर्न नगराउन आदेश जारी गरी अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।

सरकारको नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा  बोलाएपछि आज उक्त रिट फेरि पेसीमा चढेको हो ।