• १३ साउन २०८१, आइतबार

हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेश, साइबर ब्यूरोबाट अनुसन्धान सुरु

blog

काठमाडौं, जेठ २५ गते । केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरूले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ ।

उनीहरूले फिसिङको माध्यमबाट लगइन नेम र पासवर्डमा अनधिकृत पहुँच पुर्‍याएर विदेशी टिकट इस्यु गरेको उजुरी परेपछि साइबर ब्यूरोले अनुसन्धान थालेको हो ।

टिकेटिङ प्रणाली ह्याक गरी अनधिकृत रूपमा टिकट काटिएका संस्थाबाट उजुरी परेकाले छानबिन थालिएको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले उक्त विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ ।

उपनिर्देशक रायले तीनवटा संस्थाले त्यसरी ब्यूरोमा उजुरी दिएको उल्लेख गर्दै  ब्यूरोले त्यस्ता घटनामा सचेत हुन सेवाप्रदायक कम्पनी तथा आम नागरिकलाई पनि अनुरोध गरेको छ । कस्मो नेपाल ट्राभल्सलगायत तीन संस्थाका युजर नेमबाट लाखौँको टिकट काटिएको सार्वजनिक भएको थियो । रासस