• २१ वैशाख २०८१, शुक्रबार

सिमकोटमा वृहत् एकीकृत स्वास्थ्य शिविर

blog

राजन रावत

हुम्ला, जेठ २५ गते । हुम्लाको सदरमुकाम सिमकोटमा तीन वर्षपछि वृहत् एकीकृत स्वास्थ्य शिविर सञ्चालनमा आएको छ । २०७६ सालमा सुरु भएको कोरोनापछि सो वृहत् एकीकृत स्वास्थ्य शिविर बिहीबारबाट सुरु भएको हो । 

विशेषज्ञ चिकित्सकद्वारा उपचार प्रदान गरिने शिविरको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले औपचारिक रूपमा उद्घाटन गरेर सुरुवात गर्नुभएको हो । शिविरमा जिल्ला अस्पतालकै विभिन्न फाँटहरूमा छ स्थानमा बिरामीहरूको चेकजाँच गर्ने व्यवस्था गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताउनुभयो । उहाँले चिकित्सकबाट बिरामीको चेकजाँच सुरु भएको बताउनुभयो । 

सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको आयोजनामा सञ्चालन भएको शिविरमा मुटु रोग, प्रसूति तथा श्रीत रोग, जनरल, फिजिसियन, हाडजोर्नी तथा नसा, नाक, कान घाँटी, छाला रोग, बाल रोग लगायतका रोगहरूको उपचार सुरु भएको छ । 

शिविरको प्रारम्भ सामाजिक संस्था, रेडक्रस सिङ्गापुुरले प्रायोजन गरेको छ भने आधार विकास नेपालको पनि सहयोग रहेको छ । पहिलो दिन सात सय भन्दा बढी बिरामी चेकजाँचका लागि लाइनमा बसेका छन् भने आउने क्रम जारी छ । 

यसका लागि छ जना विशेषज्ञ चिकित्सकहरू बिहीबार बिहान काठमाडौंबाट आइपुग्नु भएको हो । साथै औषधि तथा उपकरण समेत आएका छन् । जिल्ला अस्पतालका चिकित्सकहरू समेत शिविरमा काम गरिरहेका छन् । शिविर शनिबारसम्म सञ्चालन हुनेछ । शिविरका लागि तीन वटै गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीहरू पनि परिचालन भएका छन् ।