• १३ साउन २०८१, आइतबार

कम्बाईन हार्वेस्टरको प्रयोगले किसानलाई सहज

blog

दमक १० मा कम्बाईन हार्वेस्टरबाट धान काटेर झारिँदै ।

विष्णुप्रसाद पोखरेल

दमक, जेठ २५ गते । कृषि मजदुर अभाव भएपछि आधुनिक कृषि औजारहरू प्रयोग गर्दा किसानहरूलाई राहत मिल्ने गरेको छ । यस्ता भाडा पाइने कृषि औजार तथा उपकरणको मूल्य नतोकिँदा र अनुगमन नहुँदा भने किसानहरूले जति भन्यो त्यति पैसा तिर्न बाध्य पनि छन् ।

दमक १० का किसान नगेन्द्रमणि न्यौपानेका अनुसार एकातिर अधिक गर्मी र अर्कातिर कृषि मजदुरहरू नपाइएको समयमा धान काट्ने मेसिन (कम्बाईन हार्वेस्टर)ले निक्कै सहज बनाएको छ । धान काट्नुपर्ने, त्यसपछि खेतमा नै केहिदिन सुकाएर बिटा बाँधेर ल्याउने र त्यसपछि झार्ने काम गर्न धेरै नै समस्या हुने गरेको थियो ।

"धान काट्ने मेसिन (कम्बाईन हार्वेस्टर) ले खेतमा धान काट्ने र त्यही झार्ने भएकाले धेरै नै राहत मिलेको छ", न्यौपानेले भन्नुभयो । चक्लाबन्दि खेती नभएका कारण र थोरैका लागि यस्तो मेसिन औजार नआउने भएकाले साना किसानहरूका लागि भने सजिलो नभएको उहाँको भनाइ छ ।

“यस प्रकारका औजारहरू प्रयोग गरे बापत घण्टाको कति तिर्ने वा लिने भन्ने विषयमा तोकिएको छैन,” उहाँले भन्नुभयो । “कम्बाइन हार्वेस्टर प्रयोग गर्नाले एकैपट काट्ने दाउनीको काम समेत प्रभावकारी हुने भएकाले यसको प्रयोगमा स्थानीय सरकारले सहुलियत तथा मूल्य तोकिदिँदा राम्रो हुन्थ्यो,” न्यौपानेले भन्नुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई झापा र कृषि ज्ञान केन्द्र झापाले कतिपय सहकारी तथा कृषक समूहहरूलाई कम्बाईन हार्वेस्टर उपलब्ध गराएको भएपनि यो पर्याप्त छैन । 

कम्बाईन हार्वेस्टरको प्रयोगले लागत मूल्य घटाउने र किसानको समयको बचत हुने कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो । यस प्रकारको मेसिन प्रयोग गर्नका लागि खेतहरूलाई चक्लाबन्दि गर्नु आवश्यक रहेको पनि उहाँ बताउनुहुन्छ । ग्रामीण क्षेत्रहरूमा साना-साना खेतका गह्रा हुँदा कम्बाइन हार्वेस्टर प्रयोग गर्न केही समस्या हुने भएकाले चक्लाबन्दि गर्न धेरै नै आवश्यक रहेको विष्टको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन हिकाई झापाका सूचना अधिकारी रविन निरौलाका अनुसार पहिलो चरणमा जिल्लामा ५ वटा र यो आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा एउटा प्रदान गरिएको छ । जुन कृषक समूह तथा सहकारीहरूले उक्त कम्बाइन हार्वेस्टर लगेका हुन्छन् उनीहरूले नै त्यो प्रयोग गरे बापत किसानले तिर्नुपर्ने मूल्य निर्धारण गर्ने गरेको पनि उहाँले बताउनुभयो ।