• ८ वैशाख २०८१, शनिबार

सरकार व्यापार गर्ने काममा लाग्नु हुँदैन : मन्त्री रिजाल

blog

जनकपुरमा पत्रकारसँग कुरा गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्नु नहुने बताउनुभएको छ । मङ्गलबार जनकपुरमा पत्रकारसँग कुरा गर्नुहुँदै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।

मन्त्री रिजालले सरकारले व्यापार गर्ने नभई व्यापारका लागि सहजीकरण गरिदिने बताउनुभयो । उहाँले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले वर्तमान सत्ता गठबन्धन पाँच वर्ष नै टिक्ने बताउनुहुँदै उहाँले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो ।

उहाँले बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै रही आएकाले यसलाई परिवर्तन नगरेसम्म देश र उद्योगीहरू सुखी हुन नसक्ने औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सरकारले व्यापार गर्ने होइन, निजी क्षेत्रले गर्ने हो व्यापार भनेको । सरकारले त मात्र सहयोग गर्ने हो । के गर्नुपर्छ बाटो बनाइदिने हो । अहिलेको गठबन्धन सरकारले तपाईहरुका समस्या समाधान गर्नेछ । प्रधानमन्त्रीले संसदमा जवाफ दिँदा बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै आएको छ । त्यसलाई परिवर्तन गर्न नसक्ने हो भने न देश सुखी रहन्छ न उद्योगपति सुखी रहन सक्छन् । सरकार कटिबद्ध छ । राजनीतिक स्थिरताका नहुँदा विगतमा समस्या आयो तर अब यो गठबन्धन सरकार पाँच वर्ष नै चल्छ मलाई लाग्छ ।’’ 

देश बनाउनका लागि सङ्घीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी कम गरे देश विकास गर्न समय नलाग्ने बताउनुभयो । उहाँले पहाडबाट बगेर जाने बालुवाहरूको उत्खनन गरी बिक्री गर्दा विरोध भइरहेको भन्दै आपत्ति जनाउनुभयो ।