• ६ वैशाख २०८१, बिहिबार

हजुरआमाको हेरचाह ‘मेरी प्यारी नातिनी’ (बालकथा)

blog

‘बच्चालाई रुवाउन हुन्न, ल्याइदेओ न हो ।’ – नातिनातिना रोएको सुन्ने बित्तिकै हजुरआमाहरूले भन्ने शब्द ।  रोएको सुन्ने बित्तिकै कराउने पनि । बच्चाको जिकिरमा तर आज बच्चा बाहिर गएर आई । उसको बाबा  दिनेशले पटक–पटक जिस्काउँदा नि सधैँ जस्तो छोरी रोइन् । न त केही चाहियो भनेर दुःख नै दिई । ऊ आज घरबाट निस्किँदा जस्तै खाली हातमै घरभित्र पसी । सिधै भान्छामा गई र फ्रिजबाट आइसक्रिम निकाली । मैले खान हुन्न भन्न मात्र के लागेकी थिएँ । उसले त आधाभन्दा धेरै भएको आइसक्रिमको बट्टा नै डसबिनमा हालिदिई । किन भनेको त आज डाक्टरकामा गएकी थिइन् । ‘बाबामामु डाक्टर अङ्कलले  भनेको चकलेट, आइसक्रिम धेरै खान हुन्न रे । चाउचाउ, लेज, कुरकुरे त झन् खानै हुन्न रे । खायो भने पेटमा कीरा पर्छ रे । पढ्न आउँदैन रे । था’छ ? 

चकलेट खाने बित्तिकै ब्रस गर्नुपर्छ रे । मैले धेरै खाएको भएर मेरो दाँत कीराले खाएको हो रे । अब म कहिल्यै खान्नँ । किनेर नल्याइदिस्यो है !’ उल्टै उसैले पो हामीलाई सम्झाइ । हामी दङ्ग प-यौँ । यही कुरा हामीले कयौँ पटक भन्दा उसले वास्तै गरेकी थिइनँ । झन् पहिलेभन्दा धेरै चकलेट, आइसक्रिम, चाउचाउ खान थालेकी थिई । दाँत दुख्यो भनेर साह्रै रून थालेपछि हामीले सानेपामा रहेको डेन्टल अस्पतालमा लगेका थियौँ । डाक्टर सफलले छोरीलाई बजारमा पाइने खानेकुरा खान हुन्न भनेर धेरैबेर सम्झाउनुभयो । ऊ सजिलै हस भनेर हाँस्दै हामीनजिक आई । घरबाट बाहिर निस्कने बित्तिकै उसलाई बजारिया खानेकुरा एक झोला किनिदिन पथ्र्यो । खान हुन्नभन्दा बाटोमै लडीबुडी खेल्थी ।  त्यति मात्र हो र ! स्कुलमा खाजा लाने बेलामा सधैँ झगडा नै पथ्र्याे । टिफिनमा समेत प्याकेट खोलेर लेज, कुरकुरेजस्ता बजारिया खानेकुरा मात्र खाजा हालिदिनुपथ्र्याे ।  ‘मामु आज खाजा आलुपरौठा बनाइदिइस्यो है ?’ छोरीमा एक्कासि आएको परिवर्तनले हामी दङ्ग प-यौँ । बच्चाहरूको पहिलो गुरु बुवाआमा हुन् । बुवाआमाले जति कसैले पनि बच्चालाई सिकाउन र सम्झाउन सक्दैन भन्ने बुझेका हामी भ्रममा रहेछौँ जस्तो लाग्यो । कयौँ पटक सम्झाउँदा नसम्झेकी छोरीले कति सजिलै डाक्टरले भन्दा सम्झी । बजारको खानेकुरा मात्र खाने उसले अचेल घरको खानेकुरा खान मात्र खान थालेकी छ । त्यति मात्र हो र ! मिस भन्दै हुनुहुन्थ्यो उसले त स्कुलमा पनि साथीहरूलाई चकलेट, चाउचाउ, लेजजस्ता बजारमा पाइने खानेकुरा खान हुन्न भनेर सम्झाउन थालेकी छ रे । सात वर्षकी छोरी जम्मा १३ किलो थिई । बजारको खानेकुरा खान छोडेको एक महिनापछि जोख्दा उसको बजन दुई किलो बढेर पन्ध्रध्र किलो भयो । छोरीको व्यवहार र शरीरमा आएको परिवर्तनले दिनेश मक्ख हुनुहुन्छ । सासूआमा कराउन छोडेको पनि ठ्याक्कै एक महिना पुग्यो । उहाँको मुहारमा छुट्टै खुसी दौडिरहेको छ । 

‘मामु ! हेरिस्यो न मेरो दाँत हल्लिरहेको छ ।’ छोरीको हात दाँतमा थियो । साँच्चै दाँत त हल्लिएकै रहेछ । धागो बाँधेर फुकाल्न खोज्दा दुख्यो भनेर मुर्छा परिन् । ‘मेरी नातिनी किन रोई हँ ?’ सासूआमा कराउनुभयो । छोराको बिहे भएको वर्षैंपछि जन्मेकी थिई सासूकी नातिनी । ऊ जन्मेको दिन सासूआमाको मुहार खुसीले धपक्क बलेको थियो । हेर्न आएका आफन्त, छिमेकीहरू छोरी पो जन्मिछे भनेर ओठ लेप्य्र्राउँथे । ‘के छोरी के छोरा, सन्तान भनेको जे जन्मिए पनि हुन्छ । सकुशल जन्मिए भने त्यही राम्रो । तिमीहरू पनि छोरी मान्छेबाट नै जन्मिएका हौ नि ! के ओठ लेप्य्र्राउँछौ । ल पैसा राखेर हेराऔ मेरी लक्ष्मीलाई ।’ सासूले त्यति बोलिदिँदा मेरो मन गर्वले फुल्थ्यो । उहाँले कहिल्यै छोरा चाहिन्छ भन्नुभएन । ‘दुई सन्तान भए भने खेल्ने साथी हुन्थे । ठूला भएपछि सुखदुःख साट्न पाउँथेँ । हामी सधैँ उनीहरूसँग बस्न पाउँदैनौँ । म डाँडामाथिको घाम, कहिले अस्ताउँछु थाहा छैन ।’ बेलाबेलामा उहाँले मनमा भक्कानो फुटाउनुहुन्छ । उहाँलाई छोरी एक्लै भई भन्ने चिन्ता छ । 

सासूबाट मैले आमाको माया पाएकी छु । म स्कुलमा पढाउन जान्छु । छोरीलाई उहाँले नै हुर्काउनुभयो । जागिर छोड्छुभन्दा, ‘किन छोड्नु ? हिजो हामीले रहर गर्दा बाहिर निस्किन पाएनौँ । घरभित्र मात्र राख्नलाई हामीले तिमीलाई ल्याएका होइनौँ । आफ्नो सीमा ननाघ्नू । काम गरेर खानुपर्छ । तिमीले पढेको पढाइ सदुपयोग पनि गर्नु प-यो नि ।’ अक्षर नचिनेकी मेरी सासूले पढाइको महत्व बुझेको देख्दा म छक्क पर्छु । ‘तिमीबाट मैले मेरो हरेक रहर पूरा गर्नु छ प्रजिता । तिमी मेरी छोरी हौ । मलाई तिमीले तिम्रै आमालाई झैँ घुक्र्याउन, सताउन पाउँछ्यौ ।’ घरीघरी मेरा आँखा पानीले टम्म बनाइदिन्छ, उहाँका शब्द सुनेपछि ।  

मेरो बिहे भएको नि दुई वर्ष भएछ । बच्चा भएको थिएन । अकस्मात् सासूले भन्नुभयो,  “बच्चा जन्माउने योजना छैन ?”  म केही बोलिनँ । हाँसेर टारेँ । लगभग आठ वर्षपछि पेटमा प्रनिता आई । भान्छाको गन्धले मेरो घाँटी बटारिन थाल्यो । सासूआमाले पनि थाहा पाउनुभयो । त्यसपछि मैले भान्छामा टेक्नै परेन  । नौ महिनापछि प्रनिता जन्मिई । सासूकी प्यारी नातिनी । 

‘बेलैमा फुकालेन भने दाँत बिग्रिएर आउँछ । मेरी नातिनीलाई त्यही सफल डाक्टरकोमा लैजाऔ त ।” अरू काम नमान्न पाइन्छ तर छोरीसँग सम्बन्धित कुनै कुरा अटेर गर्न पाइँदैन । सासूकी प्यारी नातिनीलाई लिएर हामी फेरि सानेपातर्फ लाग्यौँ ।   

Author

सरस्वती सरस