• ७ वैशाख २०८१, शुक्रबार

पनौती जात्राको सन्देश : सृष्टि चलाउन यौनकर्म (फोटो फिचरसहित)

blog

पनौती जात्राको अन्तिम दिन आइतबार जात्रा हेर्न उपस्थित भएका सर्वसाधारण। तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, जेठ २१ गते । हरेक वर्ष जेठ शुक्ल द्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा सकिएको छ। तीन दिनसम्म विशेषरुपमा चल्ने पनौती जात्रा विधिवत रुपमा भने नौ दिनसम्म चल्छ। घुम जात्राको रुपमा लिइने पनौती जात्राको अन्तिम दिन आइतबार पनौतीको लायकु दरबारमा उन्मत भैरव, भद्रकाली र महादेवको रथ एक आपसमा जुधाएर जात्रा समापन गरिएको हो। 

पार्वतीले ६४ योगिनीको रुप धारणगरी भगवान महादेवलाई लखेटेको र महादेवले आफूलाई लखेट्ने पार्वती रहेको कुरा पत्ता लागेपछि महादेवले उन्मक्त भैरव र महादेवको रुप धारण गरेर पार्वतीलाई यौन कार्य गरेको सम्झनास्वरुप पनौती जात्रामा तीनवटा रथ जुधाएर मनाउने प्रचलन रहेको पाइन्छ। 

पनौतीमा तीनवटा रथ एक आपसमा जुधाई जात्रा मनाउने प्रचलनलाई सृष्टि चलाउन यौनकर्म अनिवार्य रहेको र यौनकार्य मर्यादित, नैतिक र स्वच्छ हुनुपर्छ भन्ने सन्देश बोकेको साहित्यकार लाकोँजुले बताउनुभयो। पनौती जात्रालाई चिउली र केरा खाने तथा घुम किन्ने जात्राको रुपमा समेत बुझिने गरिएको छ। 

जात्राको पहिलो दिन जेठ शुक्ल तृतीयाको साँझ ‘दु इचा–न्या–के–गु’ विधि गरेपछि जात्राको सुरु हुन्छ। पहिलो दिन देवघरबाट ब्रहमायणी र भद्रकालीकाे मूर्ति निकालेर त्रिवेणीघाटमा लगेर एउटा राँगो, दुई बोकाको बली दिइएर जग्गे गरेर कालरात्रीको पूजा गर्ने गरिन्छ। सोहि दिन नै त्रिवेणीघाटमा रहेको बासुकी नाग बस्ने स्थानमा दुई वटा हरियो बाँस गाडेर बासुकी नागलाई गाईको दूध चढाउने प्रचलन रहेको साहित्यकार सूर्यप्रसाद लाकोँजुले बताउनुभयो। उहाँले जात्राको दोस्रो दिनमा मुख्य जात्रा रहने भएकोले पनौतीबासीले यसलाई मु–जात्रा भन्ने गरेको बताउनुभयो। 

जात्राको दोस्रो दिन पनौतीका हरेक घरले भद्रकाली, ब्रह्मायणीका साथै पनौतीभित्र रहेका सबै देवीदेवताको पूजा गर्ने गर्दछन् भने दोस्रो दिन प्रत्येक घरमा जात्राको भोज हुने गरेको साहित्यकार लाकोँजुले बताउनुभयो। जात्राको दोस्रो दिनलाई मुख्य जात्रा भने पनि यस दिन गणेशको खट परिक्रमा र पुण्यमती नदीको किनारबाट गाइनेपाटी नजिकैको रोशमती नदीको किनारसम्म रथ तान्ने बाहेक अन्य कुनै गतिविधि गरिँदैन। 

जात्राको अन्तिम दिन आइतबार पनौतीबासीले पुण्यमती र रोशमती नदीको संगममा स्नान गर्ने गर्दछन्। दुई नदीको संगमस्थलमा स्नान गर्नाले कुनै पनि रोग नलाग्ने विश्वास रहेको छ। जात्राको अन्तिम दिन ब्रह्मायणी र इन्द्रेश्वर महादेवलाई लायकु दरबार परिसरमा ल्याई भद्रकाली, उन्मत भैरव र महादेवको रथ एक आपसमा जुधाइएको छ। जात्राको अन्तिम दिन भद्रकाली र उन्मत भैरवको रथ तीन-तीन पटक जुधाइन्छ भने भद्रकाली र महादेवको रथ चार पटक जुधाउने प्रचलन रहेको छ। 

पनौतीमा तीनवटा रथ एक आपसमा जुधाई जात्रा मनाउने प्रचलनलाई सृष्टि चलाउन यौनकर्म अनिवार्य रहेको र यौनकार्य मर्यादित, नैतिक र स्वच्छ हुनुपर्छ भन्ने सन्देश बोकेको साहित्यकार लाकोँजुले बताउनुभयो। पनौती जात्रालाई चिउली र केरा खाने तथा घुम किन्ने जात्राको रुपमा समेत बुझिने गरिएको छ। 

 पनौतीमा हरेक वर्ष लाग्ने ज्याः पुन्ही (पनौती जात्रा) को अन्तिम दिन आइतबार रथ तान्दै पनौतीबासी।