• १३ साउन २०८१, आइतबार

प्रतिपक्षको नाराबाजीले प्रतिनिधि सभा बैठक स्थगन

blog

प्रतिनिधि सभाको बसेको बैठक सञ्चालन हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदहरूले आ–आफ्ना ठाउँमा उभिएर विरोध गर्दै । तस्बिर : रत्न श्रेष्ठ

काठमाडौँ, जेठ २१  गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायत दलले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक केही समयका लागि स्थगन गरिएको छ । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थगन गरिएको हो । 

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री दाहालको हालैको भारत भ्रमणबारे विपक्षी दलहरूले जवाफ मागेका छन् । एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक प्रक्रिया अनुरूप संसद्मा नयाँ नागरिकता विधेयक दर्ता गर्न माग गर्नुभयो ।  

संसद्मा नयाँ नागरिकता विधेयक दर्ता भएपछि दिनरात छलफल गरेर भए पनि एक हप्ताभित्र नयाँ विधेयक पारित गरेर  नागरिकता प्रदान गर्ने काम अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले संविधानको मर्म विपरीत नागरिकता विधेयक ल्याएको प्रमुख सचेतक गिरीले आरोप लगाउनुभयो । रासस