• १३ साउन २०८१, आइतबार

पर्यटकीय गन्तव्य बन्दै रुइसे-भेडीओढार (फाेटाे फिचर)

blog

तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ २१ गते । म्याग्दीको रघुगंगा गाउँपालिका २ मा पर्ने रुइसे-भेडीओढार पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । पर्यटन पूर्वाधार निर्माण भएसँगै पछिल्लो समय यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको हो । 

बिदाका दिन क्याम्पस र विद्यालयका विद्यार्थीदेखि बेनीका व्यवसायीहरू यहाँ पुग्ने गर्दछन् । यो स्थान परम्परागत भेडापालनले परिचित छ । ठुलो ढुङ्गाको तल ओढारमा स्थानीयहरूले सयौँको सङ्ख्यामा भेडापालन गर्ने गर्छन् । यहाँबाट वरपर सुन्दर हिमश्रङ्खलाको अवलोकन गर्न सकिन्छ । लालीगुराँसको जङ्गल र परम्परागत शैलीमा पालन गरिएका भेडाबाख्राको गोठले पर्यटक लोभ्याउने गर्दछ । 



स्थानीय सरकारले पर्यटन पूर्वाधार निर्माणमा प्राथमिकता, प्रचारप्रसार र प्रवर्द्धनमूलक योजना सञ्चालन गरेपछि भेडीओढार पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको स्थानीयवासीको भनाइ छ । 

एक दशकअघि रुइसे–भेडीओढार हुँदै धौलागिरि आइसफल पदमार्गको पहिचान गरिएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । समुन्द्री सतहदेखि २ हजार पाँच सय मिटर उचाइमा पर्ने भेडीओढारबाट हिमाल, सूर्योदय र सूर्यास्तको मनोरम दृश्य लालीगुराँसको जङ्गल र भेडाबाख्राको गोठहरूको अवलोकन गर्न पर्यटकहरू पुग्ने गर्दछन् । यहाँबाट धौलागिरि, चुरे, गुर्जा, अन्नपूर्ण, निलगिरीदेखि माछापुच्छ्रे हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । 

  

साथै यहाँबाट म्याग्दी, बागलुङ, पर्वतका दर्जनौँ बस्ती, पुनहिल, करबाकेली, टोड्के लगायतको पर्यटकीयस्थलको दृश्यावलोकन गर्न सकिन्छ । भेडीओढारको ठुलो ढुङ्गामा रेलिङ र छत राखेर भ्यू पाइन्ट निर्माण गरिएको छ । भ्यू पाइन्टको डिलबाट हिमालको मनोरम दृश्य, शान्त वातावरण, दर्जनौँ बस्ती अवलोकन गर्न सकिने रघुगंगा गाउँपालिका २ का वडाध्यक्ष अमृत भण्डारीले बताउनुभयो । 

नेपाल भ्रमण वर्ष २०२० मा सय गन्तव्यको सुचीमा ‘रूइसे–भेडीओढार–धौलागिरि आइसफल पदमार्ग’ लाई समावेश गरिएपछि यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । पदमार्गलाई धौलागिरि आइसफलसम्म विकास गर्नसके यहाँको पर्यटकीय सम्भावना वृद्धि हुने उहाँले बताउनुभयो । 


पर्यटकको सुविधाका लागि भ्यूटावर निर्माण गरिएको छ । पर्यटकका लागि होटल खुलेको छ । रघुगंगा गाउँपालिकाले रूइसे क्षेत्रको पर्यटन विकासका लागि सडक, भ्युटावर, पदमार्ग, धार्मिक मठमन्दिर पुनर्निर्माण, विद्युत, खानेपानी, तालिम हल र पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।