• १३ असोज २०८१, आइतबार

डिभिजन वन कार्यालयद्वारा निःशुल्क बिरुवा वितरण

blog

शनिबारे हाटबजारमा सर्वसाधारणलाई विभिन्न बिरुवा वितरण गर्दै डिभिजन वन कार्यालय । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २० गते । ताप्लेजुङमा डिभिजन वन कार्यालयले किसान तथा उपभोक्तालाई निःशुल्क बिरुवा वितरण गरेको छ । वन तथा वातावरण संरक्षणको सन्देश गाउँ–गाउँसम्म लग्ने उद्देश्यसहित वन कार्यालयले निःशुल्क बिरुवा वितरण गरेको हो ।  

हालसम्म वन कार्यालय पुग्ने उपभोक्ताले चाहेमा रुख तथा अन्य प्रजातिका बिरुवा निःशुल्क लैजाने गरेकोमा अहिले डिभिजन वन कार्यालयले योजना बनाएरै बिरुवा निःशुल्क वितरण गर्न थालेको छ । सदरमुकाम फुङ्लिङमा प्रत्येक साताको शनिबार लाग्ने हाटबजारलाई केन्द्र बनाएर वन कार्यालयले बिरुवा वितरण गरेको छ । 

हाटबजारमा गाउँगाउँबाट सर्वसाधारण किनमेल तथा व्यापार गर्न आउने भएकाले उक्त दिन बिरुवा वितरण गर्ने योजना बनाएको डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख बद्री शाहले जानकारी दिनुभयो । निमित्त डिभिजनल वन अधिकृत शाहका अनुसार गत साताको शनिबारे हाटदेखि विभिन्न प्रजातिका बिरुवा निःशुल्क वितरण गर्न सुरु गरिएको हो । 

हाटबजार भर्न आएका किसान तथा उपभोक्तालाई लक्षित गरी सुरु गरिएको निःशुल्क बिरुवा वितरण कार्यक्रमअन्तर्गत शनिबार करिब ७५० वटा बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी ललितकुमार यादवले जानकारी दिनुभयो । यादवका अनुसार मयुरपङ्खी र तेजपत्ता (सिन्कौली) को बिरुवा निःशुल्क रूपमा वितरण गरिएको छ । 

उहाँका अनुसार गत साता एक हजार ५०० वटा बिरुवा सर्वसाधारणलाई वितरण गरिएको छ । किसानले लैजान चाहेअनुसारको सङ्ख्यामा उक्त घरायसी प्रयोजनका बिरुवा वितरण गरिएको उहाँको भनाइ छ । तेजपत्ता मसलाको रूपमा उपयोग गर्न सकिन्छ भने यो प्रजाति स्वास्थ्यको दृष्टिले पनि निक्कै लाभकारी जडीबुटीको रूपमा परिचित छ । मयुरपङ्खी भने घर आँगन सजावटमा प्रभावकारी मानिन्छ ।

यस्तै आगामी सातादेखि भने सल्लालगायत रुख तथा घाँस प्रजातिका अन्य बिरुवा पनि वितरण गर्न सुरु गर्ने तयारी रहेको सूचना अधिकारी यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो असार महिनाभरि किसानलाई निःशुल्क विभिन्न बिरुवा वितरण गर्ने डिभिजन वन कार्यालयको योजना रहेको छ ।