• ११ पुस २०८१, बिहिबार

मुक्त हलिया केन्द्रित काम गर्छौँ : मन्त्री पोखरेल

blog

मुक्त हलियाका समस्या सम्बोधनका लागि प्रदेशस्तरीय अन्तरसंवाद । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, जेठ २० गते । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा मुक्त हलियालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ ।  शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश सरकारको आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा मुक्त हलियाका समस्या सम्बोधनका लागि प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा मुक्त हलियाको समस्या समाधान गर्न लोपोन्मुख तथा सीमान्तकृत समुदायको लागि जीविकोपार्जन र आयआर्जन कार्यक्रम सञ्चालन कार्यविधि, २०८० जारी गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले जारी गरेको कार्यविधिले मुक्त हलियाको समस्या समाधान गर्छ । मन्त्रालयबाट प्रवाह गरिने कार्यक्रममा समेत यो वर्गलाई उचित सम्बोधन गर्छौँ ।’ आगामी वर्षको सरकारको नीति, कार्यक्रममा निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिएको उहाँको भनाइ छ । 

नेकपा (एमाले) का प्रदेश सभा सदस्य कलबहादुर हमालले वास्तविक मुक्त हलियाको  तथ्याङ्क आवश्यक हुने बताउनुभयो । मुक्त हलिया समुदायलाई सम्बोधन हुनेखालका कार्यक्रम प्रदेश सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले तथ्याङ्क सङ्कलन गरेर सोही बमोजिमको सेवा दिनुपर्छ ।’

नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य जानकी सिंहले नागरिकका आधारभूत आवश्यकता परिपूर्ति गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य रनसिंह परिवारले ९७ प्रतिशत मुक्त हलिया दलित समुदायका रहेको बताउनुभयो । सरकारले उनीहरूलाई मुक्ति घोषणा गरेर थप समस्यामा पारेको उहाँको भनाइ छ । 

राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वर सुनारले प्रदेश सरकारको नीति, कार्यक्रम बजेटमा मुक्त हलियामा सवाल समेट्न आग्रह गर्नुभयो । संविधान सभा सदस्य हरि श्रीपाइलीले विगतको प्रदेश सरकारले नीति तथा कार्यक्रममा मुक्त हलियाका समस्यामा बोले पनि बजेटमा नसमेटको अनुभव सुनाउनुभयो ।