• १४ वैशाख २०८१, शुक्रबार

महानगरको पहिलो प्राथमिकता नगरवासीलाई रोग लाग्न नदिनु होः सुनिता डंगोल

blog

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल । तस्बिर गोरखापत्र

काठमाडौं, जेठ २० गते । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यवाहक प्रमुख डंगोलले नगरवासीलाई रोग लागेपछिको उपचारभन्दा पनि रोग लाग्न नै नदिने उपायहरुको बारेमा महानगरले काम गरिरहेको बताउनुभयो । उहाँले देश विकासका लागि जनप्रतिनिधिहरुको इच्छाशक्ति र शारीरिक स्वस्थता आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले धेरैजना जनप्रतिनिधिहरु प्रेसर र मधुमेहको रोगी रहेको भन्दै यस कार्यक्रमले धरै सहयोग पुग्ने बताउनु भयो ।

‘‘धेरैजना प्रतिनिधिहरु प्रेसरको पेसेन्ट हुनुहुन्छ । धेरैजना प्रतिनिधिज्युहरु औषधि खानुहुन्छ, डायबिटिजको औषधि खानुहुन्छ । त्यो लाइफस्टाइलसँग जोडेर यो तालिम दिनसके जब जनप्रतिनिधिहरु स्वस्थ हुनुहुन्छ । तब समाजमा अझ धेरै काम गर्न सकिन्छ ।,’’ कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘‘जनप्रतिनिधिको भुमिका र त्यो काम कारबाहीमा एकदमै एपिसिएन्ट रुपमा काम गर्न सकिन्छ । किनभने हामी सबैलाई थाहा छ, स्वास्थ्य रहे हामी सबै छौँ, स्वास्थ्य नरहे केही पनि छैन, जतिसुकै काम गर्छु भन्ने इच्छाशक्ति भएर मात्रै पनि पुग्दैन । त्यसैले पनि यो कार्यक्रम जनप्रतिनिधिका लागि नै गरिएको हो ।’’

कार्यवाहक प्रमुख डंगोलले जनप्रतिनिधिहरुको जीवनशैलीसँग जोडेर यस किसिमको स्वास्थ्य केन्द्रित तालिमहरु दिनसके त्यसले धेरै फाइदा पुग्ने बताउनुभयो । उहाँले मानिस स्वास्थ्य रहेमात्रै सबैखाले काम गर्न सकिने र इच्छाशक्तिले मात्रै काम गर्न नसकिने जिकिर गर्नुभयो । उहाँले स्वास्थ्यसम्बन्धित तालिमबाट जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रका बासिन्दाहलाई सचेत बनाउन सक्ने बताउनुभयो । आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र मधुमेह नियन्त्रणका लागि कार्यक्रम ल्याउन सहयोग पुग्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आजको यो तालिम र अभिमुखीकरण कार्यक्रमबाट आफ्नो जीवनशैली सुधार्न पनि केही न केही कुरा लिएर जानुहुनेछ । आफ्नो मात्रै नभइ आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र घर घरको रोग मधुमेहलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा पनि यहाँहरुले वडामा जनचेतनामुलक काम गर्दा स्वास्थ्य र घरसँग जोडिएको कार्यक्रम वडामा लैजान सहज हुनेछ । त्यसैले पनि हामी रोग लाग्न नै नदिनेतर्फ जान सक्छौँ । रोग लाग्न नै नदिनु पहिलो हाम्रो प्राथमिकता हो ।’’

कार्यवाहक प्रमुख डंगोलले यस्ता कार्यक्रमहरुले वडावासीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताउनु भयो ।