गोरखापत्र प्रकाशन शैली, गोरखापत्र संस्थान समाचार नीति तथा प्रकाशन निर्देशिका, २०८० निर्देशिका र गोरखापत्र खोज ब्युरोको अवधारणा र कार्यविधि औपचारिक रूपमा व्यवस्थापनलाई हस्तान्तरण गरेको तेस्रो दिन २०८० वैशाख १० गते कार्यकक्षमा नै रहेको बेला बेतार फोन (मोबाइल)मा घण्टी बज्यो ।
फोन उठाएर बोलेँ । उताबाट केही नभनी प्रश्नबाटै सुरु भयो, ‘अब त हल्का भयो होला नि ?’ स्वर परिचित नै थियो ।
प्रश्न गरेँ, ‘केको हल्का ?’
जवाफ आयो, ‘शैली सकेकामा ।’
हामीले एउटै उपसमितिमा रहेर गोरखापत्र प्रकाशन शैली तयार पारेका थियौँ र त्यसको छपाइयोग्य अन्तिम मस्यौदा पनि सँगै भएर बुझाएका थियौँ । गोरखापत्र प्रकाशन शैलीको सम्पादकका हिसाबले अलि जिम्मेवारी ममा नै थियो, त्यसैले यो हल्का सोधनी थियो । खासमा उपसमिति र त्यसले बनाएको एउटा कार्यदलका सबै सदस्य जम्मा भएर संयोजक गोरखापत्र दैनिकका निमित्त सम्पादक शिवकुमार भट्टराईले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीसमक्ष प्रतिवेदनसहित बुझाएपछि सबै जना नै हल्का मात्र महसुस गरेका थिएनौँ; फुल्का पनि भएका थियौँ ।
यसै पृष्ठभूमिमा फोन आएको रहेछ मधुपर्कका सम्पादक जयदेव भट्टराईबाट एउटा कामका लागि । काममा लगाउने उहाँको अलि बेग्लै शैली छ । मधुपर्कको आमसञ्चार र साहित्य विशेषाङ्कका लागि माग्नुपर्ने रहेछ लेख, त्यो पनि छोटो समय दिएर ।
उहाँको फोन आउनु केहीअघि मात्र मधुपर्ककै नायबकार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्लेले एक प्रसङ्गमा मधुपर्कले विशेषाङ्क निकाल्न लागेको जानकारी गराउनुभएको थियो । त्यसमा जोडिन म लोभिइसकेको थिएँ तर मुखफोर्न भने सकेको थिइनँ ।
मलाई पनि विशेषाङ्कमा समेटिन मन थियो, नयाँ लेखुँ कि ‘नयाँ बोतलमा पुरानो रक्सी’ हालेर उपहार दिऊँ भन्ने दोधार हुँदाहुँदै पर्सिसम्म लेख दिन म तयार भएको थिएँ किनकि आफूले गर्ने प्रयास केही नगरी त्यसै ‘अङ्गुर अमिलो’ मात्र बनाउनुहुन्न भन्नेमा म जहिले पनि दृढ छु । तथापि नयाँमा के दिने भन्ने खाका दिमागमा थिएन । यो लेख्दै गर्दा पनि म के लेख्दैछु भन्ने यकिन छैन । कसैका मनोगत लहडी कुरा सबैका लागि रोचक र उपयोगी हुन्छन् भन्ने हुँदैन; हुनुहुँदैन । यतिसम्मका लागि माफी चाहान्छु ।
यति हुँदाहुँदै पनि विषयको उठानका लागि मैले यही परिघटनालाई नै चयन गरेँ र त्यसैमा सञ्चार र साहित्यको केही लिपापोती गर्ने धृष्टता गर्दैछु । सम्भवतः रिपोर्ताज वा ब्लग पत्रकारिता र साहित्यलाई जोड्ने र तिनको फरक पनि देखाइदिने विधा हुन् । यो लेखाइ पनि त्यसै जगमा संरचना ठड्याउने जमर्को हो । कस्तो बन्छ र कस्तो जँच्छ त्यो महìवपूर्ण कुरा हुन्छ ।
मलाई लाग्छ अन्तिम समयमा आएर केही लेख भन्नु र एघारौँ घण्टामा केही लेख्न स्वीकार गर्नुमा साहित्य र समाचारको केही सम्बन्ध छ । समयसीमा (डेडलाइन) पत्रकारिताको अत्यन्तै महìवपूर्ण पक्ष हो साहित्य सिर्जनामा त्यो अलि फराकिलो हुन्छ । सायद पत्रकारिता र साहित्य सिर्जनाको समयसीमाका बीचतिर पर्दछ साहित्यिक पत्रकारिताको समयसीमा । भाषा साहित्यमा रुचि र पेसा पत्रकारिता अँगालेकाले आफ्नै कार्यालयबाट नै सुरु गर्नु प्रासङ्गिक हुन्छ किनभने गोरखापत्र नेपालको पत्रकारिताको विश्वविद्यालय र नेपाली भाषा र साहित्यको उन्नयनको संवाहक पनि हो ।
गोर्खापत्र वा गोरखापत्र विसं १९५८ देखि नेपालमा पत्रकारिता र भाषा साहित्यलाई दुई काँधमा राखेर निस्किएको अनवरत यात्री हो । त्यसै यात्रीका सहयोगीका रूपमा पछि विभिन्न उद्देश्य, प्रयोजन, प्राथमिकता र लक्षित वर्गका आधारमा गोरखापत्र संस्थानका विभिन्न प्रकाशन छन् । तीमध्ये नेपाली पत्रकारिताको नै मूलप्रवाह गोरखापत्रलाई समाचारपत्र, मधुपर्कलाई साहित्यिक, युवामञ्चलाई युवाको खुराक र मुनालाई बालपत्रिका भनेर चिनिन्छ, चिनाइन्छ ।
भाषा शैलीकै कुरा गर्ने हो भने पनि तिनमा आनका तान फरक छ किनभने तिनले निरपेक्ष रूपमा आफ्नो पत्रिकाको मात्र प्रतिनिधित्व नगरी समग्र साहित्यिक, युवा र बाल पत्रकारितालाई नै निर्देशित पनि गर्दछन् । तिनमा प्रस्तुत हुने समाचार सामग्री नेपाली भाषाका मात्र होइन विश्व्यापी सबै भाषाका तत्तत् विषय क्षेत्रसँग सम्बन्धित पत्रकारिताका मूलभूत सिद्धान्त र मान्यतालाई आत्मसात् गर्ने हुन्छन्, नभएको भए हुनुपर्छ । भाषाको फरक भनेको गोरखापत्र र दी राइजिङ नेपालका समाचार सामग्री नपढी झलक्क हेराइमा पनि स्पष्ट भेद थाहा पाउने भाषिक प्रस्तुतिको लिपिगत भिन्नता मात्र होइन ।
‘प्याज चिन्तन’
आम बुझाइमा पत्रकारिता भनेको समाचारसँग सम्बन्धित विधा हो भन्ने हुन्छ तर त्यसले अखबारी पत्रकारिताबाहेक अरूलाई बिरलै समेट्छ । पत्रकारिताका नै विभिन्न भेद रहेको सन्दर्भमा आमसञ्चार र साहित्यको सम्बन्धको गुदी केलाउनु प्याजका पत्र उक्काएर त्यसभित्र गुदी फेला पार्नु नै हो । शङ्कर लामिछानेको शब्दमा चाहिँ त्यो ‘प्याज चिन्तन’ हो । ‘प्याज चिन्तन’ अमूर्त हुन्छ र त्यसरी गुदी केलाउँदै जाँदा त्यसले आँखामा जलन गराउँदै स्वाभाविक होइन अप्राकृतिक आँसु पनि झारिदिन्छ ।
खासमा ‘प्याज चिन्तन’ पनि लामिछानेको होइन, उनकै शब्दमा त ‘चिन्तन प्याज’ हो । तथापि ती शब्द उनका मात्र होइनन्, सबैका हुन् । कसैले ठ्याक्कै उही प्रयोग गर्छ कसैले यताको उता र उताको यता गरेर मौलिकता दिने चेष्टा गर्दछ । पाठकले भने त्यसको हेक्का पाउँछ र मौलिकता हो कि, हेराफेरि हो कि अझ भन्ने हो भने चोरी हो भन्ने पत्ता लगाउँछ । पाठकको शक्ति यति हुन्छ कि कुनै लेखक, साहित्यकार वा पत्रकार र सबै सबै पेसाकर्मी र समाज सेवाधर्मीको पनि धरातल खुस्काइदिन्छ । शङ्कर लामिछानेको लेखनी बन्द गराउने पनि पाठक नै हो । त्यसैले समाचारमा होस् वा साहित्यमा पाठकबाट सचेत र सजग रहनु पर्दछ । पाठकको ‘प्याज चिन्तन’ले अपार खुसी वा अप्राकृतिक आँसु पनि झारिदिन्छ । शङ्कर लामिछानेको दशा पछिल्लो भयो ।
समाचार र साहित्य
प्रश्न उठ्छ समाचार र साहित्यमा के फरक छ ? कि समानता छ ? धेरै पत्रकार र धेरै साहित्यकारलाई यी प्रश्नको उत्तर थाहा छ कि छैन मलाई थाहा छैन । एउटा के कुरा चाहिँ थाहा छ भने सचेत पाठकले यसको फरक मजाले थाहा पाएका हुन्छन् । त्यसैले हरेक कुरा पाठक वा लक्षित वर्गलाई ध्यानमा राखेर लेखिनुपर्छ । पाठक केन्द्रित समालोचनाको आधार यही हो । सूचना प्रविधिको विकास र समाचार तथा साहित्यलाई आम पाठकसमक्ष पु¥याउन त्यसको व्यापक प्रयोगसँगै सामाजिक सञ्जालमा हुने लेखक र पाठकबीचको वास्तविक समयको अन्तक्र्रियाले त समाचार वा साहित्यलाई अझ निखारिने अवसर दिएका छन् ।
यस अर्थमा पनि समाचार र साहित्यको सम्बन्ध देखाउँदा तिनका निरपेक्ष परिभाषाको तुलना काम लाग्दैन । अर्थात् जेमा नयाँ कुरा अथवा अचम्मको कुरा समाचार हुन्छ त्यो समाचार हो भन्ने परिभाषा काम लाग्दैन । त्यस्तै शाब्दिक अर्थ खोज्दै हितैषी लेखाइ वा रसात्मक वाक्य काव्य (साहित्य) अथवा सुन्दर शब्दको सुन्दर पदक्रम साहित्य हो भन्नेजस्ता परिभाषाभन्दा बेग्लै पहिचान साहित्यको खोज्न थालिएको छ । यी परिचायक परिभाषाका केही उदाहरण मात्र हुन् ।
समाचार र साहित्यको सम्बन्ध र पृथकता पनि देखाउने गरी बेग्लै परिभाषा भएका छन् । त्यसैमा म्याथ्यु आर्नोल्डले भनेका छन्, ‘पत्रकारिता हतारमा लेखिने साहित्य हो ।’ पत्रकारिता र समाचार अन्तर्सम्बन्धित तर बेग्लाबेग्लै अर्थ दिने र परिपूरक शब्द पनि हुन् । समाचार पत्रकारिताको पेसागत क्रियाकलापको उपज हो जबकि साहित्य सबै खालका लेखाइको पाठगत संरचना पनि हो । तथापि यी दुवैको आधार अध्ययन, खोज र अनुसन्धान हुन् । सूचना, मनोरञ्जन, शिक्षा समाचार र साहित्य दुवैका लक्षित प्रतिफल हुन् ।
समाचार र साहित्य दुवै साहित्यिक रचना हुन् र दुवैको रचनाका लागि समय अत्यन्त महìवपूर्ण हुन्छ । दुवैको लेखनका लागि समय सीमा हुने भए पनि समाचारको समय सीमा कडाइसाथ पालना गर्नुपर्ने भएकाले हतारको साहित्यमा परिपक्वता पनि नहुन सक्छ ।
साहित्य सिर्जना र पत्रकारिताबीच धेरै भिन्नता पनि छन् । सामान्यतया साहित्य धेरै रचनात्मक र अभिव्यक्तिपूर्ण हुन्छ भने पत्रकारिता पाठकलाई सूचित गर्न बढी केन्द्रित हुन्छ । पत्रकारिता अधिक वस्तुनिष्ठ हुन्छ र साहित्यमा प्रायः व्यक्तिगत परिप्रेक्ष्य पनि हुन्छ । म्याथ्यु अर्नोल्डकै अनुसार पत्रकारिता विशुद्ध साहित्य हो । तर त्यो पत्रिका वा अखबारको प्रकृतिमा पनि निर्भर हुन्छ । अखबारभन्दा म्यागेजिनमा समाचारको स्तर बढी साहित्यिक हुन सक्छ किनभने त्यसका लागि ठूलो समय सीमा रहेको हुन्छ ।
पत्रकारिता आफैँमा साहित्यिक गुणयुक्त पनि हुन्छ र आवश्यक भएजस्तै स्तरको अनुसन्धान र विश्लेषण साहित्यका लागि समाचारका लागि आवश्यक हुन्छ । त्यसैले १८औँ शताब्दीमा उपन्यासको उत्थानका लागि पत्रकारिताको योगदान निकै नै रहेको मानिएको थियो । खासगरी आख्यान साहित्यका लागि पत्रकारिताको योगदान विशेष महìवको हुन्छ । अखबार र उपन्यास दुवैले नवीनता र परिस्थितिजन्य विवरणका लागि मात्र नभई लेखनको यथार्थवादी शैली, मनोरञ्जनको चिन्ता र दैनिक जीवनका लागि सम्मानमा पनि महìवपूर्ण औपचारिक गुण साझेदारी गर्दछन् । निबन्धको हकमा त त्यसको संरचना र सूचनाको प्रयोगमा पत्रकारिताबाट धेरै लाभ लिएका उदाहरण प्रशस्तै छन् ।
यस आधारमा समाचार र साहित्य दुवै कला हुन् वा कलात्मक लेखाइ हुन् । साहित्य पाठकले दोहो¥याएर पढून् भन्ने अभिप्रायले कलायुक्त हुनुपर्छ तर समाचार एक पटक पढिएर पनि तत्काल प्रभाव छाड्ने क्षमतायुक्त कलात्मक हुन्छ । त्यसैले हतारको साहित्य मानिए पनि पत्रकारिताका आधारभूत पद्धति हुन्छन्, जुन साहित्य लेखनभन्दा आधारभूत रूपमा नै भिन्न छन् । त्यसैले यी दुई बेग्लाबेग्लै विधा हुन् र यिनका पनि विधागत भिन्नताकै आधारमा यिनको पहिचान स्पष्ट हुन्छ । नाटक, कविता, कथा, उपन्यास, निबन्ध आदि साहित्य हुन् भने आर्थिक, साहित्यिक, राजनीतिक, खेल, खोज आदिका समाचार दिने विशिष्टीकृत विधा पत्रकारिताका क्षेत्र हुन् । साहित्यको तुलनामा पत्रकारिताको गति तीव्र हुन्छ एक हिसाबले भन्ने हो भने खरायो र कछुवाको दौडको प्रतियोगिता । पत्रकारिताको गति समसामयिकताका आधारको हुन्छ भने साहित्य दीर्घकालमा पनि प्रभाव छाड्ने गरी लामो समयसम्म जीवित रहन्छ ।
यसबाट के पनि स्पष्ट हुन्छ भने समाचार लेखनमा समयको जुन हतारो हुन्छ, साहित्य सिर्जनामा त्यस्तो हुँदैन । हतारको साहित्यमा परिक्वता नहुन पनि सक्छ तर त्यसको परीक्षण भने समाचारको ग्राहकले गरिरहेको हुन्छ । त्यो ग्राहक सामान्य पाठक, श्रोता, दर्शक, विश्लेषक वा अध्येता जो पनि हुन सक्छ । यो पाठकीय परीक्षणको भूमिकाले समाचारलाई तथ्यपूर्ण, सन्तुलित, विश्वसनीय बनाउन प्रेरित गर्दछ । त्यसैलाई पत्रकारिताका सामान्य सिद्धान्तका आधारका रूपमा लिने गरिन्छ । यसले समाचारलाई बेग्लै विधाका रूपमा स्थापित गर्दै साहित्यको निकट पनि बनाउँछ ।
समाचारलाई साहित्यको निकट बनाउने कुरा यी दुवैको माध्यम पनि हो । दुवैको कारोबार भाषाका माध्यमबाट हुने गर्दछ । त्यसैले भाषामा आधारित जुनसुकै सञ्चारलाई साहित्यका रूपमा नै लिइन्छ । त्यो लेख्य वा कथ्य जुनसुकै भेदको पनि हुन सक्छ ।
भाषा वस्तु तथा भावको यादृच्छिक वाक्प्रतीक रहेको भन्ने स्थापित मान्यताका आधारमा लिपि प्रतीकहरूको पनि प्रतीक हुन्छ । समाचार होस् कि साहित्य सिर्जना दुवैका लागि भाषाजस्तै लिपिको अपरिहार्यता रहन्छ । लिपिले मानव मनको अभिव्यक्तिलाई चित्र वा सङ्केत प्रदान गर्दै दृश्य रूप प्रदान गर्ने हुँदा लिपि भाषाको उन्नत प्रविधिका रूपमा रहेको हुन्छ । यो साहित्य र समाचार दुवैका लागि अनिवार्य आवश्यकता हो । भाषाबाट नै लेखनलाई कलात्मक र शैलीगत रूपमा उजिल्याउने काम हुन्छ ।
भाषा मानवीय वस्तु भएको र मानवको वैचारिक प्रकटीकरण र सूचनाको तिर्खाका कारण भाषिक कार्यसम्पादनबाट नै समाचारको प्रचलन सुरु भएको भन्न सकिन्छ । त्यसैलाई साहित्यको आरम्भ पनि मान्न सकिन्छ । कालान्तरमा निखारिँदै त्यसको विकास भएको हुन सक्छ, जसको स्पष्ट आकृति पत्रकारिताको पृष्ठभूमि रहेका सफल लेखक साहित्यकारका कृतिमा पाइन्छ । अङ्ग्रेजी लेखक र सामाजिक आलोचक चाल्र्स डिकेन्स (सन् १८१२–१८७०)को साहित्यिक जीवनको सफलताका आधार पत्रिकामा छापिएका कथा र व्याख्यात्मक निबन्धलाई मानिन्छ । तीमध्ये धेरैजसो पहिलो पटक अखबार वा पत्रिकामा लेखको रूपमा प्रकाशन भएका थिए । साहित्य कल्पनाशीलताको उपज मान्नेले तिनीहरूलाई सधैँ काल्पनिक मान्थे पत्रकारितामा ती तथ्यपूर्ण पनि हुन्थे । उनका रचना समकालीन समाजका धेरै टिप्पणी हुन्थे । त्यसैका आधारमा उनी सफल उपन्यासकार बनेका थिए ।
अङ्ग्रेजी मात्र होइन रुसी भाषामा पनि पत्रकारको पृष्ठभूमिबाट साहित्यकारको सफलता पाएका व्यक्ति भेटिएका छन् । बेलारुसकी खोज पत्रकार, निबन्धकार तथा जनइतिहासकार स्भेत्लाना अलेक्जेन्द्रोभान अलेक्सिभेइच (सन् १९४८– ) का कार्यलाई लिने गरिन्छ । उनको लेखन, गायन र अभिनयको सम्मिश्रित लेखन (पोलिफोनिक राइटिङ) अ मुनुमेन्ट टु सफरिङ एन्ड करेज इन आवर टाइम (हाम्रो समयका दुःख र साहसको स्मारक)का लागि सन् २०१५ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
नेपाली सन्दर्भको चर्चा गर्दा मोतीराम भट्ट (विसं १९२३–१९५३) साहित्यिक पत्रकारिताका मार्गदर्शक मानिन्छन् । मोतीरामले नै बनारसबाट प्रकाशित पहिलो नेपाली मासिक पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशन थालेका थिए । उक्त पत्रिकाको प्रकाशन वर्षमा भने विसं १९४२ र विसं १९४३ भनी विवाद छ । नेपालमा पशुपत छापखानाको स्थापना, भानुभक्त आचार्यको जीवनी लेखेर खोज परम्पराको पनि उनले उजागर गरेका थिए ।
त्यसका साथै नेपाली पत्रकारिताको थालनी नै साहित्यिक पत्रिकाबाट भएको थियो । विसं १९५५ मा प्रकाशित ‘सुधासागर’का प्रति फेला नपरे पनि नेपालको पत्रकारिताको इतिहासको त्यो आरम्भ थियो । त्यसलाई समाचार र भाषा साहित्यको दोहोरो सेवकका रूपमा ‘गोर्खापत्र’ले विसं १९५८ देखि आजपर्यन्त काम गर्दै आएको छ । त्यसैमध्येका एक ‘गोरखापत्र’मा काम गरेर पत्रकारिता र साहित्य दुवै क्षेत्रमा सफल भैरव अर्याल (विसं १९९३–२०३३) हुन् ।
हास्यव्यङ्ग्यका मूर्धन्य अर्यालले पत्रकारिताको जगबाट आफूलाई साहित्यमा स्थापित गराएका छन् भने साहित्यका बहुमुखी प्रतिभा बालकृष्ण सम (विसं १९५९–२०३८) विसं २०१२ मा ‘गोरखापत्र’का प्रधान सम्पादक रहेर पत्रकारितामा पनि योगदान गर्ने व्यक्ति भएका थिए । साहित्यिक पत्रकारिता त साहित्य र पत्रकारितालाई जोड्ने पेसा नै भइहाल्यो एउटै व्यक्तिको क्षमताले पनि साहित्य र समाचारमा स्थान खोज्ने यी दुई उदाहरणले समाचार र साहित्य लेखनमा केही समानता खोज्छ भन्न सकिन्छ ।
ऋद्धिबहादुर मल्ल (विसं १९५५–२०२५)ले विसं १९९१ मा ‘शारदा’ मासिक प्रकाशन सुरु गरेपछि नेपाली साहित्यिक पत्रकारिताको विकासमा नयाँ आयाम थपिएको हो । त्यसपछि ‘रूपरेखा’का उत्तम कुँवर, रचनाका रोचक घिमिरेको योगदान उल्लेख्य छ । साहित्यिक पत्रिकाका रूपमा ‘मधुपर्क’ र ‘गरिमा’ले साहित्य र साहित्यिक पत्रकारितालाई बेग्लै आकार र उचाइ दिएका छन् ।
रिपोर्ताज र साहित्य
समाचार र साहित्य दुवैमा प्रचलनमा ल्याइने शब्द रिपोर्ताज ९चभउयचतबनभ० हो । यो फ्रेन्च भाषाको रिपोर्ट ९चभउयचत० मा एज ९बनभ० मिलेर बनेको छ । रिपोर्टको अर्थ प्रतिवेदन गर्नु भन्ने हो । रिपोर्ताजको अर्थचाहिँ कुनै घटनाको वर्णन गर्नु हो ।
घटनाको वर्णन भन्नाले त्यसमा सत्य तथ्यको प्रस्तुति समाचारको निकट हुन्छ भने मौलिकता वा कल्पनाशीलताको लिपापोती र भाषिक कलात्मक निखार पनि परेको हुन्छ जुन साहित्यको निकट हुन्छ । त्यसमा अध्ययन अनुसन्धान पनि थपिएको हुन सक्छ । यिनै अर्थगत र संरचनागत समानताका कारण साहित्य र रिपोर्ताजको भेदमा केही अलमल हुन्छ । कविता, कथा, उपन्यास, नाटक, लघुकथा आदिका विधागत भिन्नताका आधारमा साहित्यलाई स्पष्ट रूपमा चिनिन्छ । रिपोर्ताजचाहिँ समाचार रिपोर्ट गर्ने कार्य वा प्रक्रियालाई अवलोकन वा दस्तावेज गरिएका घटनाको विवरण दिनका लागि लेख्ने गरिन्छ ।
साहित्यमा आख्यान र गैरआख्यानको पनि अर्को भेद छ । यसले कथात्मक गुण नभएका गैरआख्यान लेखाइमा पर्ने यावत् रचनालाई साहित्यको परिभाषामा समेट्छ । यस अर्थमा रिपोर्ताज पनि साहित्यमा पर्न आउँछ ।
मूलतः साहित्य विद्यालय र विश्वविद्यालयमा परम्परागत रूपमा अध्ययनका विषय पनि हुन् । रिपोर्ताज पनि पछिल्लो समयमा साहित्य र पत्रकारिता दुवै विषयमा समेटिन थालेको छ । त्योभन्दा पनि यो आमसञ्चार क्षेत्रमा कार्यरत जनशक्तिको रुचिको लेखाइ बन्दै गएको छ ।
ब्लग र समाचार
सूचना र सञ्चार प्रविधिको विकासले लेखनका विधा निर्माण र पृथकीकरण पनि गर्न थालेको छ । इन्टरनेट र वेबसाइटको प्रयोग र स्मार्ट फोनको पहुँच आममानिसमा पुगेपछि संसार मान्छेको हत्केलामा आइपुगेको छ । यसले नवप्रवर्तनका अवसर पनि जुटाइदिएको छ जुन आमसञ्चारको क्षेत्रमा पनि प्रयोग भएको छ । त्यस्तैमध्येको एक ब्लग लेखन हो ।
पत्रकारिता कुनै सञ्चारमाध्यममा आबद्ध भएर वा स्वतन्त्र रूपमा पनि पत्रकारले गर्ने पेसागत काम हो । ब्लग भने पत्रकार वा अरू पनि व्यक्तिले ताजा विषयमा सत्य तथ्य खोज्दै लेख्ने बेवसाइटमा लेख्ने लेखन हो । ब्लग शब्द वेब र लग दुईको नवनिर्माण हो, जसमा वेबको अङ्ग्रेजी वर्ण ‘बी’ को आधा उच्चारण ‘ब्’ मा र ‘लग’ जोडिएको छ । ‘लग’ शब्द पानी जहाजका चालक दलले राख्ने घटनाको क्रमबद्ध लेखाइका लागि प्रयोग भएको मानिन्छ ।
ब्लग लेखनमा कुनै विवादास्पद वा उजागर नभएका पाटा खोतल्दै सिलसिलेवार रूपमा प्रस्तुत गरी वेबसाइटमा राखिन्छ । त्यसो गर्दा विभिन्न स्रोत र सन्दर्भ सामग्रीलाई पनि प्रस्तुत गरिन्छ वा मूल स्रोतसम्म पुगेर पाठकले आफैँ निष्कर्ष निकालोस् भन्ने अभिप्राय राखिन्छ । त्यसका लागि बहुमाध्यमको पनि प्रयोग गरिएको हुन्छ ।
समाचारमा भने स्रोतको उल्लेख गर्दै पुष्टि र सन्तुलनको प्रयास हुन्छ । ब्लग व्यक्तिगत, प्राज्ञिक वा पेसागत पनि हुन सक्छ । अहिले विभिन्न विश्वविद्यालयहरूले प्राज्ञिक ब्लग लेखनका लागि औपचारिक शिक्षण नै थालेका छन् । सञ्चारमाध्यमहरूले आममानिसलाई समेट्न उनीहरूका ब्लग लेखाइलाई आफ्ना वेबपोर्टलमा स्थान दिन सक्छन् । तिनमा अन्य विषयका अतिरिक्त भाषा र साहित्यका सामग्रीलाई पनि स्थान दिन सकिन्छ ।
लिटरेचर रिभ्यु अर्थात् पूर्वकार्यसमीक्षा साहित्यसँग जोडिएको लेखन अनुसन्धानको क्षेत्रमा अनिवार्य प्रयोगको अर्को एउटा पक्ष पूर्वकार्य समीक्षा वा पूर्वाध्यायन हो । अङ्ग्रेजीमा यसलाई लिटरेचर रिभ्यु भन्ने गरिएको छ । लिटरेचरको नेपाली आमप्रयोगको समानार्थी साहित्य हो र रिभ्यु भनेको समीक्षा वा पुनरवलोकन हो ।
कुनै नयाँ विषयमा खोजी गर्दा वा पुरानो विषयको पनि नयाँ शिराबाट अध्ययन गर्दा पहिले प्रकाशमा आइसकेका तथ्य र तथ्याङ्कलाई नयाँसँग तुलना गर्नुपर्ने हुन्छ । त्यसैलाई पूर्वकार्यसमीक्षा वा लिटरेचर रिभ्यु भनिन्छ ।
व्यवस्थित र योजनाबद्ध अनुसन्धान वा आकस्मिक खोजीमा पनि यो कार्य गरिने भएकाले समाचार र साहित्य दुवैमा यसको प्रयोग हुन्छ । यसको प्रयोजनका लागि सबै किसिमका अभिलेखित सामग्री साहित्यकै वर्गमा पर्दछन् । पुस्तक, पत्रिका, जर्नल, वेबसाइटका सामग्री, सरकारी वा गैरसरकारी निकाय वा संस्थाका सूचना सामग्री एवं दस्तावेज सबै साहित्यका रूपमा रहेका हुन्छन् । तिनमा लेखाइ वा छपाइका सामग्री मात्र नभएर श्रव्य वा श्रव्यदृश्य अभिलेख वा ताजा सामग्री पनि साहित्यकै रूपमा रहन्छन् अर्थात् भाषागत प्रयोजनका सबै सामग्री साहित्य हुन् । तर समाचार र अन्य साहित्यिक प्रयोजनका लागि तिनको प्रयोग पद्धति र स्रोत सन्दर्भ उल्लेख गर्ने परम्परा भने बेग्लै छ । फेरि त्यसले समाचार र साहित्यको भिन्नता देखाउँछ ।
टुङ्ग्याउनी
मानव विकास क्रममा भाषाको आविष्कार भएदेखि नै सूचना सम्प्रेषण हुन थालेको अनुमान गरिन्छ । विभिन्न कालखण्डका अभ्यास हुँदै भाषाका यादृच्छिक वाक्प्रतीक निर्माण भएका हुन् । लिपिको आविष्कारले त्यसलाई अरू व्यवस्थित गर्दै लग्यो र अहिले सूचना सम्प्रेषण र साहित्य रुचिको क्षेत्र वा पेसा वा व्यवसाय पनि बनेको छ ।
सूचना प्रविधिको विकास र प्रयोगले त्यसलाई अरू व्यापक बनाइदिएको छ । साथै विभिन्न विधागत र विषय क्षेत्रगत प्रयोग समाचार र साहित्य लेखन दुवैमा हुन थालेको छ । त्यसको उपयोगले आममानिसको जीवनलाई सहज बनाइदिनुका साथै अवसरका नयाँ पाटा पनि दिएको छ । सञ्चार र साहित्यले त्यसको सदुपयोग गर्नुपर्दछ । त्यसका लागि चाहे मूल पत्रकारिता होस् वा साहित्यिकलगायतका विधागत पत्रकारितामा होस् फेरि अध्ययन र अनुसन्धानको आवश्यकता छ ।