• १३ वैशाख २०८१, बिहिबार

आफ्नै भवन नहुँदा सेवा प्रभावित

blog

नवराज श्रेष्ठ

रामेछाप, जेठ १८ गते । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. २ को कार्यालयको आफ्नै कार्यालय भवन छैन। भवन नभएकै करण यो वडाले मासिक पाँच हजार रुपियाँ भाडा तिरेर कच्ची घरका दुई वटा कोठाबाट सेवा दिइरहेको छ। 

मुलुक सङ्घीय संरचनामा गएपछि भएको पहिलो स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले पाँच वर्ष भौतिक पूर्वाधारकै क्षेत्रमा बढी बजेट खर्च गरे। यो व्रmममा धेरै सडक खनिए, धेरै स्थानीय तहका सुविधा सम्पन्न पक्की भवन निर्माण भए तर खाँडादेवी गाउँपालिका–२ को वडा कार्यालय भवन अझै बनेको छैन। 

वडा कार्यालय भवन बनाउन आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा भाडाको घरबाट जसोतसो सेवा दिन बाध्य भएको सो वडाका वडाध्यक्ष केशवकुमार प्रधानले बताउनुभयो। “लामो समयदेखि महिनाको पाँच हजार रुपियाँ तिरेर कच्ची घरको दुई वटा कोठाबाट सेवा दिएका छौँ, भौतिक सुविधा नहुँदा सेवालाई जनताको चाहना अनुसार प्रभावकारी बनाउन सकिएन,” उहाँले भन्नुभयो। 

खाँडादेवी गाउँपालिका–२ जस्तै रामेछापका आठ वटा स्थानीय तहका १५ वटा वडा कार्यालय भवन अभावकै कारण कार्यालय सञ्चालनलगायत विभिन्न समस्या छन्। यस जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकाको १५ वटाभन्दा बढी वडाको आफ्नै भवन छैन।  

स्थानीय तह पूर्वाधार विकास शाखाका अनुसार अहिले जिल्लामा रहेका आठ वटै स्थानीय तहका १३ वटा वडाको वडा कार्यालय भवन निर्माणाधीन अवस्थामा छन्। यसमा केही वडा कार्यालय भवन अन्तिम चरणमा, केही आधाआधी काम भएको, केहीको भर्खरै सुरु भएको र केहीको भर्खरै ठेक्का लागेको छ। 

चार वडा भाडामा 

१४ वडा रहेको जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाको पाँच वटा वडा कार्यालयको आफ्नै भवन छैन। नगरपालिकामा निर्माणाधीनसहित वडा नं. ३, ६, ११ र १३ ले भाडाको कोठाबाट सेवा प्रवाह गरिरहेका छन्। वडा नं १, ३, ७, ८, ११ र १३ को कार्यालय भवन निर्माणाधीन अवस्थामा रहेको मन्थली नगरपालिका पूर्वाधार विकास तथा अनुगमन शाखाका इन्जिनियर डिल्लीबहादुर अधिकारीले बताउनुभयो। वडा नं. २, १० र १४ को कार्यालय भवन निर्माण सम्पन्न भइसकेको छ।

नौ वटा वडा रहेको रामेछाप नगरपालिकामा भने वडा नं. ८ को मात्रै कार्यालय भवन बन्न बाँकी रहेको सो नगरपालिकाका योजना शाखाका इन्जिनियर प्रवीण गिरीले जानकारी दिनुभयो।

पाँचवटा वडा रहेको सुनापति गाउँपालिकामा चारवटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भइसकेको छ। यो गाउँपालिकामा वडा नं. २, ३, ४ र ५ को भवन निर्माण भइसकेको र वडा नं. १ को वडा कार्यालय भवन निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाको प्राविधिक शाखाका इन्जिनियर अङ्कुश सुवेदीले बताउनुभयो। 

पानी चुहिने भवनमा वडा कार्यालय

सात वटा वडा रहेको दोरम्बा सैलुङ गाउँपालिकाका तीन वटा वडाले पानी चुहिने र भूकम्पले क्षति गरेको पुरानै संरचनाबाट जसोतसो सेवाप्रवाह गरिरहेका छन्। यो गाउँपालिकामा अहिलेसम्म वडा नं. १, ५, ६ र ७ नं. वडामा कार्यालय भवन बनिसकेको र वडा नं. २, ३ र ४ को भवन बनाउन अत्यावश्यक रहेको गाउँपालिकाका सबइन्जिनियर सुमित्रा राईले बताउनुभयो। “गाउँपालिकाको वडा नं. २, ३ र ४ को कार्यालय भवन बन्न बाँकी छ, यी वडाले पानी चुहिने पुरानै भवनबाट सेवा प्रदान गरिरहेका छन्,” उहाँले भन्नुभयो। 

ठाउँ विवादले बन्न सकेन भवन

नौ वटा वडा रहेको खाँडादेवी गाउँपालिकामा अहिलेसम्म छ वटा वडाको कार्यालय भवन निर्माण भएका छन्। यस गाउँपालिकाको हालसम्म वडा नं. १, ३, ४, ६, ८ र ९ को भवन बनिसकेको र वडा नं. २, ५ र ७ को कार्यालय भवन निर्माण हुन नसकेको गाउँपालिकाको भौतिक पूर्वाधार शाखाका सबइन्जिनियर गोकर्ण खत्रीले बताउनुभयो। 

“भवन बनाउन बाँकी रहेकामध्ये वडा नं. ५, पकरबासमा यो वर्ष भवन निर्माण हुनुपर्ने हो, तर यहाँ स्थानीयबिच ठाउँको विवाद हुँदा अझै काम अगाडि बढ्न सकेको छैन,” उहाँले भन्नुभयो। 

यो वडाको आफ्नै जग्गा भएको ठाउँ पकरबासको ठाँटीमा भवन बनाउन सुरु गरेपछि फुल्पावासीले सो स्थानमा अपायक पर्ने भन्दै विरोध जनाउँदै आएका छन्। भवन निर्माणका लागि बजेट परेपछि पुरानो भवन भत्काएर नयाँ भवन निर्माणका लागि काम सुरु गरिएको थियो। 

उमाकुण्ड गाउँपालिकामा पनि तीन वटा वडा कार्यालयको आफ्नै भवन छैन। वडा नं. २, ४ र ६ मा भवन निर्माण गर्न बाँकी रहेको गाउँपालिकाको पूर्वाधार शाखाका इन्जिनियर विकास वाइजुले जानकारी दिनुभयो। “सात वटा वडा रहेको उमाकुण्ड गाउँपालिकामा अहिलेसम्म वडा नं. १, ३, ५ र ७ को पक्की भवन बनिसकेको छ, अब वडा नं. २, ४ र ६ मा कार्यालय भवन बनाउन बाँकी छ,” उहाँले भन्नुभयो। 

लिखुतामाकोशी गाउँपालिकामा अहिले वडा नं. २, ५ र ७ को भवन निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाको भौतिक पूर्वाधार तथा प्राविधिक शाखाका सबइन्जिनियर कुवेरजङ्ग कार्कीले बताउनुभयो। यस गाउँपालिकाको वडा नं. १, ३ र ६ को कार्यालय भवन बनिसकेको र वडा नं. ७ ले अहिले भाडामा कार्यालय सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। 

गोकुलगङ्गामा सबै वडामा पक्की भवन

 छ वटा वडा रहेको गोकुलगङ्गा गाउँपालिकाका सबै वडा कार्यालयले पक्की कार्यालय भवनबाट सेवाप्रवाह गरिरहेको गाउँपालिकाका सबइन्जिनियर निशान कार्कीले जानकारी दिनुभयो। “जिल्लाका अन्य स्थानीय तहभन्दा वडा तथा पालिका कार्यालय भवन बनाउने काममा गोकुलगङ्गा अगाडि नै छ, अहिले गाउँपालिकासहित सबै वडाले पक्की भवनबाट सेवा प्रवाह गरिरहेका छन्,” उहाँले भन्नुभयो।