• ६ जेठ २०८१, आइतबार

भन्सार महसुल दर बढेसँगै सुनको मूल्य उच्च

blog

काठमाडौँ, जेठ १८ गते  ।  स्थानीय बजारमा सुनको मूल्य बढेर प्रतितोला एक लाख १२ हजार रुपियाँ नाघेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सुनको भन्सार महसुल बढाइएसँगै सुनको मूल्य बढेको हो । बजेटमा १५ प्रतिशत सुनको भन्सार बढेको छ । 

बुधबार सुन तोलामा एक हजार पाँच सय रुपियाँले बढेर एक लाख १२ हजार रुपियाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यसअघि सुनको मूल्य उच्च हुँदा प्रतितोला एक लाख ११ हजार आठ सय रुपियाँसम्म पुगेको थियो । मङ्गलबार सुनको मूल्य एकै दिन तोलामा २४ सय रुपियाँले बढेर प्रतितोला एक लाख १० हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो ।

बजेटमार्फत सुनको भन्सार १० प्रतिशतबाट बढेर १५ प्रतिशत पु-याइएको छ । १० ग्राम सुनको भन्सार शुल्क १२ हजार ७५० पुगेको छ । यसले तोलामा पाँच हजार मूल्य बढ्ने व्यवसायीको भनाइ छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले सुनमा भन्सार दर बढेसँगै मूल्य बढ्दा उपभोक्तालाई मारमा परेको जानकारी दिनुभयो । 

अन्तर्राष्ट्रिय मूल्यभन्दा पनि भन्सार महसुल बढेका कारण स्थानीय बजारमा सुनको मूल्य वृद्धि भएको 

उहाँको भनाइ छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ९६०.०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य तोलामा २० रुपियाँले वृद्धि भएको छ । बुधबार चाँदी प्रतितोला १३ सय ९५ रुपियाँ पुगेको छ । मङ्गलबार चाँदी तोलामा १५ रुपियाँले बढ्दै प्रतितोला एक हजार ३७५ रुपियाँमा कारोबार भएको थियो  । 

नेपालमा प्रतिकिलो सुनमा आठ लाख ५० हजार रुपियाँ र प्रतिकिलो चाँदीमा आठ हजार पाँच सय भन्सार लाग्दै आएको छ । बजेट वक्तव्य अनुसार अबदेखि सुन र चाँदी दुवैमा १५ प्रतिशत भन्सार र थप २ प्रतिशत विलासिता कर लाग्ने व्यवस्था भएको छ । 

यसैबिच सुनचाँदी व्यवसायीले बजेटमार्फत सुनमा वृद्धि गरेको भन्सार महसुलप्रति विरोध जनाएका छन् ।