• १६ चैत २०८०, शुक्रबार

प्रधानमन्त्री नयाँ दिल्लीमा

‘भ्रमण सद्भावना अभिवृद्धिमा केन्द्रित’

blog

भारतस्थित नेपाली दुतावासद्वारा बुधबार आफ्नो स्वागतका लागि आयोजना गरिएको रात्रीभोज कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' । तस्बिरः प्रदीपराज वन्त

रमेश लम्साल

नयाँ दिल्ली, जेठ १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजदेखि सुरु गरेको भारत भ्रमण सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताउनुभएको छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजित रात्रिभोजसहितको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आपसी विश्वास तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा भ्रमण केन्द्रित रहने बताउनुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा नयाँ दिल्ली आएको उल्लेख गर्दै उहाँले यस अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल हुने उल्लेख गर्नुभयो ।

नेपाल र भारतबिच सदियौँ पुरानो जनस्तरको सम्बन्ध रहेको दोहो-याउँदै प्रधानमन्त्रीले यस भ्रमणपछि दुई देशबिचको मैत्री सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भारतमा अध्ययन, रोजगारीलगायत अन्य काममा रहेका नेपाली आफैँमा सद्भावना दूत रहेको उल्लेख गर्दै उनीहरू नेपालको हितमा केन्द्रित रहेकामा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले भारतमा सिकेको सीप तथा ज्ञानलाई मुलुकको समृद्धिका लागि खर्चनसमेत आग्रह गर्नुभयो ।

नेपाली जहाँ रहे पनि नेपाल र नेपालीको हितमा रहने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न सरकार क्रियाशील  रहेको बताउनुभयो । प्रधानमन्त्रीले सरकारले हालै मात्र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत सामाजिक सुरक्षाको अभियानमा संलग्न गराएकाले त्यसबाट लाभ लिन भारतमा रहेका नेपालीलाई आग्रह गर्नुभयो । कोभिडका कारण समस्यामा परेको अर्थतन्त्र क्रमशः सुधारका क्रममा अगाडि बढेको जानकारी दिँदै उहाँले वर्तमान सरकार गठन भएपछि अर्थतन्त्र सुधारका लागि दत्तचित्त भएर लागेको स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्रीले जनतालाई सेवासुविधा प्रदान गर्दै अर्थतन्त्रको विकास र विस्तारका लागि सरकार अग्रसर भएकाले त्यसको परिणाम छिट्टै देखिने बताउनुभयो ।

सेवा प्रवाहलाई थप सरल र जनपक्षीय बनाउन सरकार लागिपरेको जानकारी दिँदै उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सरकार पूर्ण प्रतिबद्धतासाथ लागिपरेको र शून्य सहनशीलताको नीति अख्तियार गरेको बताउनुभयो ।

स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचनपछि नेपालको लोकतान्त्रिक प्रक्रिया  नयाँ चरणमा प्रवेश गरेको र वर्तमान सरकार त्यसको अधिकतम विस्तारमा लागिपरेको उहाँले बताउनुभयो ।