• ८ वैशाख २०८१, शनिबार

गोरखापत्र अझै स्मार्ट भएर जानुपर्छ : सञ्चारमन्त्री शर्मा

blog

गोरखापत्र संस्थानको फोटो प्रदर्शनी अवलोकन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा ।

काठमाडौं, जेठ १६ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गोरखापत्र अझ स्मार्ट भएर जानुपर्ने बताउनुभयो।  उहाँले भन्नुभयो, ‘‘यस्ता फोटाले इतिहास सम्झाउने, लिपिबद्ध गर्ने काम गर्छन्। फोटोले हामीले बिर्सिएका घटना, परिघटनालाई स्मरण गराउनुका साथै इतिहासको संरक्षण गर्ने काम गर्छ। हाम्रो इतिहास सुरक्षित गर्नु राम्रो कुरा हो। गोरखापत्र अझै स्मार्ट र राम्रो भएर जाओस्।’’


सञ्चारमन्त्री शर्माले गोरखापत्र सबै नेपाली मिडियाको नेतृत्व गर्न सक्नुपर्ने बताउनुभएको छ। १६ औं गणतन्त्र दिवसको अवसरमा गोरखापत्र संस्थानमा आयोजित फोटो प्रदर्शनीको अवलोकन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो। सञ्चारमन्त्री शर्माले भन्नुभयो, “गोरखापत्रले सबै मिडियाको नेतृत्व गर्न सक्नुपर्छ भन्ने मलाई लाग्छ।” उहाँले सरकारी मिडियाप्रतिको बुझाइ हिजोको भन्दा फरक भएको बताउनुभयो। मन्त्रीले भन्नुभयो, “गोरखापत्र भनेर जे बुझाइ हिजोको थियो। सरकारी मिडिया भन्नाले सरकारले राम्रो गरे पनि नराम्रो गरे पनि त्यही भन्छ भन्ने जुन बुझाइ थियो, अहिलेको अवस्थमा त्यस्तो छैन।” 

गणतन्त्र दिवस उल्लासमय बनाऔं भन्ने हिसाबबाट सरकारी स्वामित्वका तथा निजी क्षेत्रका समाचार माध्यमहरुले गणतन्त्र दिवसका सामग्रीलाई प्राथमिकतामा राखेर प्रकाशन र प्रसारण गरेको उहाँले बताउनुभयो। 

उहाँले भन्नुभयो, “गणतन्त्र, लोकतन्त्रमाथिको प्रहार, समावेशीतामाथिको प्रहार वास्तवमा यो धेरै दुख, कष्ट, मूल्यमा प्राप्त भएको हो। गणतन्त्र प्राप्त पछाडि धेरैको रगत, पसिना, थुप्रैले आफन्त गुमाएका छन्। पदमा बस्ने मान्छेको गल्तीको दोष गणतन्त्रले पाउनुहुँदैन।” २०३० देखि २०६० सालसम्मका तस्बिरका बारेमा मन्त्री शर्मालाई गोरखापत्रका फोटोग्राफी प्रमुख रामप्रसाद हुमागाईंले जानकारी गराउनुभयो। 

फोटो प्रदशनीको अवलोकनपछि मन्त्री शर्माले गोरखापत्र संस्थानका नवनियुक्त सम्पादक सल्लाहकार उपेश महर्जनलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ । 


यसअघि मन्त्री शर्मा संस्थानमा आइपुग्नु हुँदा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी,  प्रधानसम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलिया, प्रशासन विभागका निर्देशक ओमप्रकाश भुसाललगायतले स्वागत गर्नुभयो ।  

गोरखापत्र संस्थानको डिजिटल अर्काइभ स्टुडियोको अवलोकन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा ।