• ९ मंसिर २०८१, आइतबार

जनकपुरधामको दशरथ तलाउमा स्नान गर्नेको भीड

blog

गङ्गा दशहराको अवसरमा जनकपुरधामको दशरथ सरमा स्नान गर्दै श्रद्धालु भक्तजनहरु । तस्विर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, जेठ १६ गते । हिन्दु धर्मावलम्बीहरूका लागि गङ्गा मातासँग सम्बन्धित गङ्गा दशहरा अर्थात् गङ्गा दशैँको अवसरमा जनकपुरधामको दशरथ तलाउ (दशरथ पोखरी) मा स्नान गर्ने भक्तजनहरूले घुइँचो लागेको छ । सोमबार परेको जेठशुक्ल दशमी अर्थात् गङ्गा दशहराका दिन गङ्गा नदी पृथ्वीमा अवतरण भएको दिनको रूपमा मनाइने गङ्गा दशहराको अवसरमा दशरथ सरमा स्नान गर्ने दर्शनार्थीहरुको घुइँचो लागेको हो । 

नेपाल तथा भारतका विभिन्न स्थानबाट दशहराको अवसरमा जनकपुधाम उपमहानगरपालिका वडा नं. ८ स्थित दशरथ मन्दिर नजिक रहेको दशरथ सरमा  स्नान गरी दशरथ महाराजको पूजा गर्न आउने गरेका छन् । यहाँ स्नान गर्नाले पुण्य प्राप्ति हुने मान्यता हिन्दु धर्ममा छ ।  

दशहराको दिन दशरथ सरमा स्नान गर्नाले पुण्य मिल्ने विश्वासका साथ धनुषाको नगराइन नगरपालिकाबाट आउनुभएका इन्द्रकला निधि प्रत्येक वर्ष झैँ यस वर्ष पनि यहाँ स्नान गरी दर्शन गर्न आउनु भएको छ । यहाँ स्नान गर्दा पुण्य प्राप्ति हुने विश्वासका साथ उहाँहरू सम्पूर्ण परिवार स्नान गर्न आउनुभएको हो । यहाँ स्नान गरे पाप पखालिने र पुण्य प्राप्ति हुने विश्वास समेत रहेको इन्द्रकला बताउनुहुन्छ । 

भगीरथले अनेकौँ प्रयास गरी आजकै दिन गङ्गालाई पृथ्वीमा ल्याएको पुराणमा उल्लेख छ । १० प्रकारका पाप नाश हुने विश्वासमा नदी पवित्र तलाउ तथा तीर्थस्थलमा स्नान गरी तर्पण गरेर यो पर्व मनाइने गरिन्छ । सके दशौं दिन स्नान गर्ने, नसके दशमीका दिन मात्र स्नान गर्ने परम्परा पनि छ । 

यस दिनको दान तथा उपवासको विशेष महत्त्व समेत रहेको दर्शन गर्न आउने भक्तजनहरू बताउँछन् । गङ्गा दशहराको दिन गङ्गा स्नान गर्नाले भगवान् विष्णुको विशेष कृपा प्राप्त हुन्छ र पितृहरू खुसी हुन्छन् भन्ने मान्यता रहिआएको छ ।