• १४ वैशाख २०८१, शुक्रबार

बाल दुर्व्यवहार यसरी हुन्छ, थाहा पाई राखौ

blog

भाइबहिनी हो ! तिमीहरूलाई बाल दुर्व्यवहार  भनेको के हो थाहा छ ? यसबारे तिमीहरू कत्तिको जानकार छौ ? आज तिमीहरूले बाल दुर्व्यवहार  के हो भन्ने विषयमा जानकारी लिने छौ ।  

बालबालिकालाई पीर पर्ने वा आघात पुग्ने खालका नकारात्मक व्यवहार वा क्रियाकलापलाई बाल दुर्व्यवहार  भनिन्छ । बाल दुर्व्यवहारअन्तर्गत भावनात्मक, शारीरिक र यौन दुर्व्यवहार  पर्दछन् ।  बहकाउमा वा दबाबमा पारेर आफ्नो स्वार्थका लागि प्रयोग गर्नु,  भावनात्मक आवश्यकतालाई बेवास्ता गर्नु चित्त दुख्ने गरी गाली गर्नु, आत्मविश्वास तोड्नुलाई भावनात्मक दुव्र्यवहार भनिन्छ भने आफ्नो रिस पोख्न वा अन्य बहानामा पिट्नु शारीरिक, मानसिक र शैक्षिक विकासमा असर पर्ने गरी काममा लगाउनु, गह्रौँ भारी बोकाउनु, विद्यालयमा शिक्षकले सजाय दिनु, कुलतमा लगाउनु, मनोरञ्जनको साधनका रूपमा प्रयोग गर्नु शारीरिक दुव्र्यवहार हो । 

त्यस्तै नराम्रा तस्बिर, चित्र र चलचित्रहरू देखाउनु वा भिडियो फोटो खिच्नु,  संवेदनशील अङ्ग छुनु वा छुन लगाउनु यौन दुव्र्यवहार हो ।  बिनाकारण जिस्काउनु, हप्काउनु, सराप्नु, गाली गर्नु, नराम्रो नाम काटेर बोलाउनु,  रेखदेख नगर्नु, फोहोरी भोको, नाङुगो राख्नु, शिक्षा तथा स्वास्थ्यलाई बेवास्ता गर्नु उनीहरूको कुरालाई नसुन्नु पनि एक प्रकारको बाल दुव्र्यवहार नै हो । 

भाइबहिनी हो ! तिमीहरूलाई थाहा छ । बाल दुव्र्यवहार जहाँसुकै जुन बेला जति बेला पनि हुन सक्छ । बाल दुव्र्यवहार परिवारका आफ्नै सदस्यबाट आफ्नै घरमा वा नातेदारकोमा, विद्यालयमा, बसमा, होटलमा, अस्पतालमा, सडकमा, बालगृहमा, सिनेमा हलमा, एकान्त ठाउँमा जहाँ सुकै पनि हुन सक्छ । बाल दुव्र्यवहार सामान्यतया अपाङ्ग भएकामा अलि धेरै हुने गरेको पाइन्छ । 

अपाङ्गताको प्रकारलाई लक्षित गरेर विभिन्न उपनामहरूले बोलाउनु, उनीहरूको आवश्यकताअनुसारको स्वास्थ्य तथा पोषणमा हेला गर्नु, शारीरिक यातना दिनु, हिँडडुल गर्न सहयोग नगर्नु, संवेदनशील अङ्गहरू छुनु वा चलाउनु, यौन सम्पर्क राख्ने वा राख्ने चेष्टा गर्नु दुव्र्यवहारहरू हुन्छन् । 

भाइबहिनी हो ! आफूमाथि यदि कहीँ कतै यस्ता गतिविधि भइरहेका छन् भने आफू सचेत र सतर्क हुनुपर्छ है ! बाल दुव्र्यवहारबाट बच्न बालबालिका आफू स्वयंले पनि रोकथामको उपायहरू अपनाउन सकिन्छ । जस्तै, आफ्नो शरीरलाई अनावश्यक रूपमा सकेसम्म कसैलाई पनि छुन नदिने । 

किनभने आफ्नो शरीरमा आफ्नो मात्र अधिकार हुन्छ, यदि कसैले छुन खोजेमा आफूलाई मन नपरेको प्रतिक्रिया दिने, कसैले जबरजस्ती गरेको खण्डमा चिच्याएर अरूको सहयोग माग्ने, कुनै व्यक्तिले शङ्कास्पद कार्य  गर्न खोजेमा नजिकै रहेको प्रहरी चौकीमा गई प्रहरीलाई खबर गर्ने, बिनाकाम सकेसम्म अपरिचित व्यक्तिसँग टाढै बस्ने, अनावश्यक रूपमा कसैले फोटो खिच्न खोजे नाई भन्ने, इन्टरनेट र फेसबुकमा अनावश्यक रूपमा नचिनेको व्यक्तिलाई कसैलाई पनि नजिकको सम्बन्ध कायम नगर्ने, घरमा एक्लै भएको बेला चिनेको वा नचिनेको मानिसलाई भित्र नलाने, कसैले गाली गलौज वा अपशब्द प्रयोग गरेमा विरोध गर्ने, अञ्जान मान्छेसँग एकान्तमा डुल्न नजाने, बलियो हुनुभन्दा चनाखो भएर बस्ने आदि ।   

 दुव्र्यवहारबाट बचाउन अभिभावक, शिक्षक, सचेत नागरिक तथा जिम्मेवार निकायको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनुपर्दछ ।  बालबालिकालाई शरीरका विशेष अङ्गको जानकारी दिने, विभिन्न खालका दुव्र्यवहारका बारेमा जानकारी दिने, आफ्ना बालबालिका कहाँ छन्, कोसँग छन्, के गर्दै छन्, भन्ने कुराको हेक्का तथा निगरानी राख्ने, सुरक्षासम्बन्धी जिम्मेवारी लिने, विद्यालयको कक्षा कोठामा  आत्मविश्वास, आत्मसम्मान बढाउन, निडर हुन प्रोत्साहन गर्ने,  आफ्नो विचार, भावना र मनमा लागेका कुरा व्यक्त गर्न हौसला दिने ।

यदि  दुव्र्यवहार भएको बताएमा उनीहरूको मद्दत गर्ने,  जानकारीमूलक पत्रपत्रिका वा अन्य सामग्री पढ्न दिने,  कुरा ध्यान दिएर सुन्ने, बालबालिकाको सानो गल्तीलाई लिएर डराउने, धम्क्याउने, तर्साउनेजस्ता मनोवैज्ञानिक यातना नदिने आदि । 

भाइबहिनी हो !  बालबालिकामाथि हुन सक्ने दुव्र्यवहारका बारेमा आफू पनि सचेत हुनुपर्दछ र अरूलाई पनि सचेत गराउनुपर्दछ । दुव्र्यवहार सहेर बस्नाले एकातिर पीडित व्यक्तिले पीडा सहेर बस्नुपर्ने हुन्छ भने अर्कोतर्फ पीडकलाई छुट दिइरहेको हुन्छ । पीडकले पहिलादेखि नै पीडित भइरहेको वा थप अरूलाई समेत बारम्बार दुव्र्यवहार गरिरहन सक्दछन् । जो कोही पीडितले सहयोग, संरक्षण, उपचार पाउनु उसको अधिकार हो । 

पीडकलाई कारबाही नगर्नु भनेको पीडितमाथि अन्याय हुनु हो । त्यसैले यस्ता किसिमको दुव्र्यवहारका बारेमा बोल्न र सहयोग गर्न पछि पर्नु हुँदैन । दुव्र्यवहार जो कोही माथि पनि हुन सक्छ तर आफूमाथि भएको दुव्र्यवहार कुनै जिम्मेवार मानिससँग व्यक्त गरेको खण्डमा मात्र आफूलाई कसैले मद्दत गर्न सक्दछन् । यस्ता घटना लुकाएर राखेको खण्डमा फेरि पनि दोहोरिन सक्छन्, यदि कसैले दुव्र्यवहार गरेमा दुव्र्यवहार गर्ने व्यक्तिले कानुनबमोजिम सजाय पाउनु पर्दछ । 

अन्त्यमा भाइबहिनी हो, दुव्र्यवहारबाट बच्न आफू सचेत त हुनुपर्छ नै साथै अभिभावक पनि यस मामिलामा उत्तिकै चनाखो बन्नु जरुरी छ । यसका लागि परिवार, समाज, समुदाय र सिङ्गो राष्ट्रको नै साथ, सहयोग र सकारात्मक भूमिकाको 

आवश्यकता हुन्छ ।  

Author

निशा चौधरी