• ३१ वैशाख २०८२, बुधबार

मधेशमा हराउँदै गोरुगाडा

blog

सर्लाही समाचारदाता

सर्लाही, जेठ १६ गते । गोरुगाढा तराई मधेशको एउटा चिनारी हो तर पछिल्लो समय यहाँ गोरुगाडा देख्नै मुस्किल पर्न थालेको  छ। गोरु पाल्ने चलन नै हराएपछि गोरुगाडा पनि लोप हुँदै गएका हुन्। अहिले मधेशका गाउँमा पस्दा कतै कतै आक्कलझुक्कल मात्रै गोरुगाडा देखिन्छ। 

पहिले एक ठाउँबाट अर्को ठाउँमा पुग्न तथा कृषि उपज र अन्य सरसामग्री ओसारपसार गर्न गोरुगाडाको प्रयोग हुन्थ्यो। अहिले सवारीको सहज पहुँच र छिटोछरितोको खोजीमा गोरुगाडाको प्रयोग हुन छाडेको गोडैता नगरपालिका–११ का ७८ वर्षीय रामभरोसी यादव बताउनुहुन्छ।

यादवलाई गोरुगाडा चढेर सीमापारि भारतीय बजार, सदरमुकाम मलङ्गवा र पूर्व–पश्चिम राजमार्गसम्म पुगेको स्मरण ताजै छ। “हल गोरु नारेर गाडा चलाउँदै भारतसम्म किनमेल गर्न, सरकारी कामकाज गर्न सदरमुकाम मलङ्गवा पुगेको र उखु लिएर राजमार्गको चिनी मिलसम्म पुगेको अझै सम्झन्छु,” वयोवृद्ध यादवले भन्नुभयो, “अहिले सबैतिर सजिलै गाडी पुग्छन्। गोरुगाडा त कहाँ पुगे कहाँ, सबै इतिहास मात्रै भए।”

मधेशमा अहिले निकै कमले गोरु पाल्छन्। खेतबारी जोत्न ट्याक्टर प्रयोग हुन्छ। पाखोबारीमा मात्रै गोरु नारेर जोत्ने गरिन्छ। ईश्वरपुर नगरपालिका–१२, घारिबथान नयाँटोलका जयराम रायले एक दशकको अवधिमा गोरुगाडा लोप नै भएको बताउनुभयो। “१०/१२ वर्षअघिसम्म गोरुगाडा धेरै चलाइन्थ्यो तर अहिले गाउँका एक/दुई जनासँग मात्रै गोरुगाडा छ,” उहाँले भन्नुभयो, “समयले कोल्टे फे-यो, अब अहिलेको सुखी सयलको जिन्दगीमा दुःख गरेर कसले गोरुगाडा चलाउँछ ?” 

मधेशका गाउँमा कोही कोहीले मात्रै धान, चामल बोक्न र नजिकैका आफन्तकहाँ जाँदा गोरुगाडाको प्रयोग गर्छन्। गाडीको सहज पहँुच नहुँदा माइत, मावली र ससुरालीसम्म पुग्न पनि गोरुगाडाको प्रयोग हुन्थ्यो। सदरमुकाम मलङ्गवा निवासी नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी गोरुगाडा हराउँदा मधेशको एउटा चिनारी नै मासिएको बताउनुभयो। “मधेशमा गोरुगाडा मात्रै होइन, यस्ता धेरै चिनारी मासिँदै गएका छन्,” उहाँले भन्नुभयो। 

प्रयोग नै हुन छाडेपछि यहाँ गोरुगाडा बनाउने पनि भेटिँदैनन्। गोरुगाडा बनाउन पहिले जस्तो पर्याप्त काठ, दाउरा पनि नरहेको बूढापाका बताउनुहुन्छ। बरहथवा नगरपालिका–११ का पुनित मण्डलले अहिले त कहीँ कतै गोरुगाडा देख्दा पनि नौलो लाग्ने गरेको बताउनुभयो। उहाँले कोर मधेशका भित्री बस्तीमा समेत गोरुगाडा देख्न मुस्किल पर्न थालेको बताउनुभयो।