• १६ चैत २०८०, शुक्रबार

जलहरी प्रकरणमा ओलीलाई जोडेर अभिव्यक्ति दिनु उचित होइन : प्रधानमन्त्री

blog

प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

काठमाडौं, जेठ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको बताउनुभएको छ । पार्टीका सांसद लेखनाथ दाहालले सो प्रकरणबारे ओलीलाई जोडेर संसदमा दिएको अभिव्यक्ति उचित नभएको प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति थियो ।

शनिबार प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई समय दिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसदका रेकर्डबाट हटाउन सकिने प्रचलन गरेको पनि स्मरण गराउनुभयो ।

उहाँले सो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र स्वतन्त्र तथा निष्पक्ष छानबिन हुने आश्वासन समेत दिनुभयो ।

‘‘श्री पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सम्मानित सदनमा चर्चा उठेको छ । पशुपतिनाथ मन्दिरको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो । र, सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन । जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवेदन परी छानबिन, अनुसन्धान भइरहेको छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यस विषयमा अख्तियार दुरपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्नेनै छ । यसमा सरकारको सहयोग रहनेछ । पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी सम्बन्धी विषयमा प्रमुख प्रतिपक्षको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ । यति भनिसकेपछि मैले नीति, कार्यक्रम सम्बन्धि उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम आज नै रहेको छ । बाँकी विस्तृत रुपमा म त्यतिबेला नै कुरा राख्नेछु ।’’

प्रधानमन्त्री प्रचण्डले सो प्रकरणबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँको सो जवाफ दिएपछि अहिले संसद बैठक सूचारु भएको छ । एमालेले सो प्रकरणमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता ओलीलाई मुछेको भन्दै शुक्रबार (हिजो) प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको थियो ।