काठमाडौं, जेठ ११ गते । नेकपा (एमाले) का सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको नेपालको सम्बन्ध अवसर भएको बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै सांसद राईले नेपालका लागि भारतसँगको सम्बन्ध अवसर भएको बताउनुभएको हो । उहाँले छिमेकी मुलुकसँगको सम्बन्ध हाम्रो लागि समस्या नभएको बताउनुभयो ।
सांसद राईले भारतसँगको सम्बन्धलाई अवसरको रूपमा परिणत गर्न नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्ने भए पनि त्यस्तो हुन नसकेको जानकारी दिनुभयो । सांसद राईले सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिको मूल कपि नै नभएको भन्दै बजारमा सुनिएका कुराहरूको आधिकारिताको सम्बन्धमा प्रश्न उठाउनुभयो ।
‘‘१९५० को सन्धिको मूल कपि छैन । जे प्राप्त भएको छ, त्यसको आधिकारिकता कति छ जसको मूल कपि अहिलेसम्म पाएकै छैन । हामीले जे बजारमा पाइरहेका छौँ, जे हाम्रोमा सुन्नमा, देख्नमा, बुझ्नमा आइरहेको छ यसको आधिकारिकता कति ? दोस्रो कुरा भारत नेपालका लागि अवसर हो भन्ने बुझ्छु मैले । तर यसलाई समस्या बनाइयो ।,’’ सांसद राईले भन्नुभयो, ‘‘त्यो पनि हाम्रो नेतृत्वको कारणले गरेको हो । मेरो कुरा के हो भने भारत समस्या होइन अवसर हो । यसलाई अवसरको रूपमा परिणत गराउनका लागि हाम्रो नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्थ्यो हुनुपर्थ्यो भएन । १९५० को सन्धि खारेज हुनु, नहुनुले केही अर्थ छैन । यसमा लेखिएका बुँदाहरूले देखिन्छ यो खारेज हुनु नहुनुको केही अर्थ छैन । तर हामी यसैलाई कोकोहोला गरिरहेका छौँ । सन् १९५० को असमान सन्धि खारेज गर समस्या पारेको छ चल्न दिएको छ भनिरहेका छौँ ।’’
सांसद राईले नेपालमा सन् १९५० को सन्धि खारेज हुनुपर्ने माग बारम्बार उठिरहने भन्दै सो सन्धि खारेज हुनु र नहुनेको कुनै अर्थ नभएको बताउनुभयो ।