काठमाडौं, जेठ ९ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको आरोहण गर्नुभएका हरिबहादुर बुढामगरलाई बधाई दिनुभएको छ।
मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा भेटेर बुढामगरलाई बधाई दिनुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ। यसअघि मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेललेसमेत बधाई दिनुभएको छ।
ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राख्नुभएको विश्व कीर्तिमानको सबैले प्रशंसा गरेका छन्।
बुढामगरले सगरमाथा आरोहण गरेर शारीरिक अशक्त व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास बढाउनुभएको छ।