काठमाडौं, जेठ ९ गते। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशका लागि विचारमा स्पष्ट जनमत बनाउन अपिल गर्नुभएको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित २३ वटा जनवर्गीय सङ्गठनका पदाधिकारीको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्नु हुँदै उहाँले विचार र सङ्गठनमा स्पष्ट जनमत निर्माण गर्नुपर्ने बताउनुभयो। अध्यक्ष ओलीले २३ महिनासम्म संवैधानिक परिषद्को अनिवार्य सदस्य हुने प्रतिपक्षसँग संवाद नगरिएको भन्नुहुँदै यसप्रति सम्बन्धित पक्षले गम्भीर ढङ्गले सोच, विचार गर्ने काम नगरेको आरोप लगाउनुभयो।
उहाँले भन्नुभयो, “उहाँहरूलाई कुनै कुराप्रति जिम्मेवारी, गहन ढङ्गले सोच्ने, विचार गर्ने काम रहेन। हामीले धेरै गहन ढङ्गले यी विषयलाई लिनुपर्छ।”
उहाँले नेपाली जनताले यसको विकल्प दिने बताउनु हुँदै अहिलेको परिस्थिति र अवस्थालाई छोडेर स्पष्ट र सुदृढ जनमत बनाउनुपर्ने बताउनुभयो। “३६४ दिन एमाले, चुनावका दिन अर्को थोक हुने यस्तो सङ्गठनको कुनै काम हुँदैन। मुख्य कुरा, हामीले त्यस्तो सक्रिय जनमत तयार गर्नुपर्छ, देशका लागि लड्न, दृढ सङ्कल्प भएको जनमत आवश्यक छ। विचारमा, सङ्गठनमा स्पष्ट भएको यो विभिन्न पेसा, व्यवसाय, विभिन्न समुदाय, वर्गमा तपाईँहरू गएर तपाईँहरूको सङ्गठनमार्फत नै यो जनमत बनाउने हो”, उहाँले भन्नुभयो।
नक्कली भुटानी शरणार्थी सम्बन्धमा उहाँले भन्नुभयो, “नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेको संलग्नता थिएन, छैन र हुने छैन। यदि कसैले एमालेका आदर्श, मूल्य, मान्यता विपरीत उद्देश्यलाई आघात पुग्ने गरी अनुचित क्रियाकलाप कसैले गर्छ भने त्यस्तोमा कारबाही गर्न आफैँ अग्रसर भएर बढ्छ।”
उहाँले देशको अर्थतन्त्र राजस्वले धान्न नसकेको अवस्थामा रहेको र विकासका कामका लागि नभई सरकार चलाउन मात्रै पनि अर्थतन्त्र ऋणात्मक अवस्थामा रहेको बताउनुभयो। “प्रहरी, प्रशासन, सरकार चलाउने मात्रै कुरामा ऋणात्मक अवस्थामा छौँ। जब, आम्दानीले सरकार मात्रै चलाउन सक्दैनौँ भने त्यो घाटा कसले बेहोर्छ ?” यस तहमा हाम्रो देशभरै दशकदेखि रहेको उहाँको भनाइ छ।