• १ जेठ २०८२, बिहिबार

नेपाली कांग्रेसलाई समग्र रूपान्तरण गर्नुपर्छ : डा. कोइराला

blog

नेपाली कांग्रेसका नेता एवम् सांसद डा. शेखर कोइराला ।

काठमाडौं, जेठ ९ गते । नेपाली कांग्रेसका नेता एवम् सांसद डा. शेखर कोइरालाले पार्टीभित्रको असन्तुष्टि सम्बोधन गर्न नवीन कार्यदिशाअनुसार समग्र रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

गोरखापत्रसँग कुराकानी गर्नुहुँदै डा. कोइरालाले कांग्रेस देशको अभिभावक राजनीतिक दल भएकाले पार्टी सञ्चालनमा भएका कमीकमजोरी सच्याएर रूपान्तरणको सन्देश दिनुपर्ने बताउनुभएको हो ।

उहाँले पार्टीभित्र देखिएको असन्तुष्टि बढ्दै गए पनि र केही नेता–कार्यकर्ताले पार्टी छोडे पनि विभाजनको अवस्था नआउने प्रष्ट पार्नुभयो ।  उहाँले भन्नुभयो, “पार्टीभित्र केही असन्तुष्टि छ । रूपान्तरण अपरिहार्य भइसकेको छ । तर हामी सच्चिनुपर्छ । असन्तुष्टि छ भन्दैमा पार्टी विभाजन नै हुन्छ भन्ने होइन । नेपाली कांग्रेस एकताबद्ध हुन्छ, हुनुपर्छ ।”

‘शरणार्थी मुद्दाको सूक्ष्म छानबिन’

डा. कोइरालाले नेपालको छवि अन्तर्राष्ट्रिय समुदायमा धुमिल हुन नदिन नक्कली भुटानी शरणार्थीको मुद्दाको छानबिन सूक्ष्म ढङ्गले हुनुपर्ने बताउनुभयो । उहाँले नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भएपछि नेपालीको शिर निहुरिएकाले यो विषयमा सङ्लग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको हो ।

उहाँले कांग्रेसका एक नेता पनि अनुसन्धानमा परेको विषयले आफूहरू चिन्तित भए पनि अनुसन्धानमा सहयोग गर्नु सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँ (नेता बालकृष्ण खाण) को अनुसन्धान सकिएपछि निर्दोष भए पार्टीको काममा फर्किनुहुन्छ । नभए कानुनअनुसार हुन्छ । अहिले पार्टीको जिम्मेवारीबाट अलग हुँदा राम्रो हुनेथियो ।”

डा. कोइरालाले यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसकेकाले मिहिन ढङ्गले छानबिन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर छ, निष्पक्ष छानबिन हुनुपर्छ । नेपाली कांग्रेस एउटा कुरामा प्रष्ट छ– कुनै पनि दोषी छुट्नुहुँदैन । कुनै निर्दोष पर्नुहुँदैन ।”

शक्तिशाली देश अमेरिकामा नक्कली भुटानी शरणार्थी पठाउने विषय आएपछि त्यो देश पक्कै सशङ्कित भएको हुनसक्ने भएकाले यो विषयमा छानबिनमा राज्य जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ । उहाँले नागरिक समाज र जनस्तरबाट भइरहेको दबाब मूलक आन्दोलनको भावना सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो ।