• १३ साउन २०८१, आइतबार

गुरुकुलमा ‘आधा–अपूरो’

blog

काठमाडौँ, जेठ ७ गते । भारतीय नाटककार मोहन राकेशद्वारा लिखित ‘आधे अधुरे’ को नेपाली रूपान्तरण हो, नाटक ‘आधा–अपूरो’ । नाटककार राकेश (सन् १९२५–१९७२) प्रसिद्ध हिन्दी नाटककार हुन् । असारको एक दिन, आधे अधुरे, लहरों के राजहंश उहाँका हजारौँ पटक मञ्चन भएका नाटक हुन् । भारतीय रङ्ग जगत्मा उहाँको नाम अग्रपङ्क्तिमा आउँछ । 

नाटक ‘आधा–अपूरो’ ले आधुनिक मध्यमवर्गीय परिवारको आन्तरिक कलह तथा समाजमा महिला र पुरुषले एकअर्कामा गर्ने अपेक्षालाई चित्रण गरिएको छ । नाटकको मुख्य पात्र सावित्रीले जे जसो गरेर भए पनि एक्लै घर धान्नुभएको छ । उहाँलाई श्रीमान् महेन्द्र व्यक्तित्वहीन र परनिर्भर हुनुहुन्छ । त्यसैले उहाँ लगातार एउटा पूर्ण मान्छेको खोजीमा भौँतारिनुहुन्छ । जति खोज्दा पनि त्यो मान्छे भेट्दिन । उहाँ कतै कुनै व्यक्तिमा पूर्ण मान्छेको विशेषता पाउनुहुन्छ । उप्रति आकर्षित हुनुहुन्छ । समयको अन्तरालमा उसलाई पनि उहाँ अपूरो पाउनुहुन्छ र निराश भइरहनु हुन्छ । उहाँलाई नै थाहा छैन कि उहाँले कस्तो मान्छे खोजिरहेको हो । त्यस्तै अर्कोतर्फ महेन्द्रलाई श्रीमतीले अपमानित गरिरहेको, आफूलाई नियन्त्रण गर्न खोजिरहेको महसुस हुन्छ । उहाँ हीनताबोध गर्नुहुन्छ । त्यसैले उहाँ परिवारबाट नै पटक पटक टाढा जाने कोसिस गरिरहनुहुन्छ र प्रत्येक पटक फर्किनु पर्छ ।  

बाध्यता, आवश्यकता र महìवकाङ्क्षाले उत्पन्न गरेका परिस्थितिको चित्रण हो, नाटक ‘आधा–अपूरो’ । शङ्कर पोखरेलको परिकल्पना र निर्देशन रहेको नाटकमा  रामभजन कामत, मौसम खड्का, सम्झना भट्टराई, सुवास तिमल्सिना, विशाल देवकोटा, शर्मिला नेपाल (निराकार), रोशन चन्द, सन्तोष पोखरेललगायतको अभिनय रहेको छ । काव्य आर्ट र आरोहण गुरुकुल स्कुल अफ थिएटरको सहकार्यमा थापागाउँस्थित आरोहण गुरुकुल (कुञ्ज थिएटर) मा नाटक ‘आधा–अपूरो’ मञ्चन भइरहेको छ । जेठ ५ गतेदेखि मञ्चन भएको नाटक आगामी जेठ २२ सम्म मञ्चन हुनेछ ।

निर्देशक शङ्कर पोखरेलले भारतीय नाटककार मोहन राकेशले लेखेको नाटक ‘आधे अधुरे’ लाई नेपालीमा अनुवाद गर्नुभएको हो । निर्देशक पोखरेलको यो डेब्यु निर्देशन हो ।