• १२ असार २०८१, बुधबार

बजारमा देखिन थाल्यो आँप

blog

सिरहा समाचारदाता

सिरहा, जेठ ७ गते । स्वादिलो मौसमी फल भनेर चिनिने आँप लहानको बजारमा देखिन थालेको छ। आँपको प्रमुख सङ्कलन केन्द्र मानिएको लहानमा स्थानीय आँप आउनुभन्दा अगाडि नै भारतको विभिन्न स्थानबाट भित्र्याइएका  आँप पाउन थालेको हो। 

स्थानीय आँपको रुखमा आँप पाक्नु तीन साताअगाडि नै लहानमा भारतको नासिर, मद्रास र तमिलनाडुबाट पाकेको आँप भित्रिन थालेको हो। लहान चोकका फलफूलका खुद्रा बिक्रेता  राजन मण्डलले अहिले भित्रिएको गुलाबखास जातको आँप मिठो र स्वादिलो भएको बताउनुभयो। स्थानीय बजारमा भारतीय आँप ७० रुपियाँदेखि १२० रुपियाँ प्रति किलोग्राममा पाइने गरेको छ।

खुद्रा बिक्रेता  मण्डलले भन्नुभयो, “अब स्थानीय बजारमा भारतबाट आयात हुने पाकेको आँप पाउन सुरु भइसकेको छ। एक हप्तापछि बङ्गालबाट हिमसागर र बम्बई जातको आँप भित्रिन सुरु हुन्छ। त्यसपछि असार १५ गतेतिर भारतको उत्तर प्रदेशबाट दसहरी, मालदह र चौसा जातको आँप यहाँ आउँछ तर भारतबाट भित्रिएको आँप बाहिर नगई लहान आसपासका क्षेत्रमा मात्र खपत हुन्छ।” 

स्थानीय जातको आँप भने जेठको तेस्रो सातापछि मात्रै उपलब्ध हुन सक्ने फलफूल व्यापारी बताउँछन्। सुरुमा जेठको तेस्रो सातापछि स्थानीय रुखबाट बम्बई जातको आँप बजारमा भित्रिन्छ। फलफूलका थोक व्यापारी कपिल मण्डलले भन्नुभयो, “त्यसको दुईदेखि तीन सातापछि मालदह आँप आउँछ, भदौको मध्यसम्म हामीले थरी थरीका आँप उपभोक्तालाई उपलब्ध गराउन सक्छौँ।” 

लहान नगरपालिकाका कृषि शाखाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत प्रकाश साह हलुवाईले फल्ने वर्ष भए पनि आँपको चिचिला लाग्ने समयमा यसपालि तापक्रम अत्यधिक भएको कारण स्थानीय आँपको उत्पादन विगतको वर्षको तुलनामा कम हुने जानकारी दिनुभयो। “सुरुमा स्थानीय बगैँँचामा आँपको पालुवा र दाना निकै राम्रो भएर आए पनि वैशाख महिनाको पहिलो सातामा ४२ डिग्रीसम्मको तापव्रmमका कारण आँपका अधिकांश चिचिला झरेको छ। हलुवाईका अनुसार फल्ने वर्ष भएको हुनाले कृषकले लगानी त गरे तर प्रतिफल थोरै आउने सम्भावना भएकोले त्यसको प्रत्यक्ष भार आँपको मूल्यमा पर्न सक्ने देखिएको छ। लहानमा विभिन्न स्थानबाट सङ्कलित भएका आँप यहाँका व्यापारीहरूले काठमाडौँ, पोखरा, नारायणघाटलगायत देशका विभिन्न सहरमा पठाउने गरेका छन्।