यात्राको निबन्धात्मक प्रस्तुतिका रूपमा परिभाषित नियात्रा साहित्य वर्तमान समयको लोकप्रिय साहित्यिक विधा बनेको छ । नियात्राले यात्रामार्ग र गन्तव्यको भूगोल, राजनीति, संस्कृति, इतिहास, परम्परा, जन–जीवनका विविध आयाम र प्राकृतिक वातावरण आदिलाई कुनै न कुनै कोणबाट समेटेको हुन्छ । नियात्रामा साहित्यका अन्य विधाका अंशहरू, प्रामाणिक तथ्यहरूका साथै व्यक्तिका महìवपूर्ण भनाइसमेत उल्लेख गरिने भएकाले यो विधा रोचक, जानकारीमूलक र अन्य विधाले भन्दा व्यापक क्षेत्र समेट्ने विधा बनेको छ ।
नियात्राकार इल्या भट्टराईको नियात्रा सङ्ग्रह ‘मिसर’ उहाँको नियात्रा विधाको पाँचौँ कृति हो । लेखनमा कला र विषयको तादम्यता स्थापित यस कृतिमा लेखकको ज्ञान, वस्तुगत जानकारी, विधागत परख एवं समय र यात्राको महìवमाथि दर्बिलो पकड भेटिन्छ । उच्चकोटीको प्रतिभा पहिरनमा सजिएर पिरामिडको देशको बाह्रदिने यात्रा ‘मिसर’ नियात्रा सङ्ग्रहमा रूपान्तरित भएको छ । यो नियात्रा सङ्ग्रह मिश्रको संस्कृति, रहनसहन, परम्परा, प्रकृति, इतिहास एवं वर्तमान लिएर उपस्थित छ । सङ्ग्रहका सोह्रवटा शीर्षकले अनायस निर्णित यात्रा तयारीको परिस्थितिदेखि पुस्तक प्रकाशनका क्षणसम्मलाई उद्घाटित गरेका छन् ।
नियात्रा सङ्ग्रहको पहिलो रचना ‘नौलो गन्तव्य’मा अचानक इजिप्ट यात्राका लागि मिलेको अवसर र तयारीका सन्दर्भहरू उजागर भएका छन् । दोस्रो नियात्रा ‘दूर देशको यात्रा’ सन् २०१२ को डिसेम्बरमा गरिएको यात्राको समय खुलासा गर्दै आरम्भ हुन्छ । काठमाडौँबाट मध्यरातमा उडेको जहाजमा नियात्राकारका मनमा गन्तव्यभूमिका बारेमा उठेका भावहरू, मस्तिष्कमा आएका पूर्वजानकारीका यादहरू तरङ्गित भइरहन्छन् ।
दोहा विमानस्थलको लगभग सोह्र घण्टाको बिसौनीले भङ्ग भएको यात्रा कायरोका लागि जोडिन्छ तेस्रो नियात्रा ‘यल्ला यल्ल्ल्ला’ शीर्षकबाट फैलिएर । आफ्नो सिटअगाडि स्व्रिmनमा कि देखिन्छ समुद्र कि देखिन्छ मरुभूमि ! मरुभूमिमा खेतीपाती गरेका ठाउँहरू देखिँदा आफ्नो देशका बाँझा खेतबारीहरूको याद आउँछ । नेपाली युवा आफ्ना खेतबारी बाँझै राखेर मरुभूमिलाई हराभरा पार्न कहिलेसम्म विदेशिनु पर्ने हो प्रश्न उठेर नियात्राकारको मनलाई पिरोल्छ । जहाजका अन्य यात्रीहरू भेषभूषा, भाषा, गतिविधि सबै कुराले फरक छन्, नबुभिने छन्, दूरीमा छन् । आफूले अर्थ नबुझेको शब्द ‘यल्ला यल्ल्ल्ला’ मात्र दोहो¥याइ रहन्छन् ।
तेस्रो नियात्रा ‘कौतुकमय काहिरा’ आधा आकासमा फैलिएको छ भने आधा मिश्र अर्थात् पिरामिडको देश इजिप्टमा । स्व्रिmनमा देखिएको लालसागर र मरुभूमिको सुन्दर वर्णन छुटेको छैन । पिरामिड हेर्ने, इजिप्टको ऐतिहासिक रूपसँग परिचित हुने अभिलाषा झन्झन् अग्लिरहेको छ । नियात्राकारको इजिप्ट यात्राको पहिलो उद्देश्य पनि पिरामिड अवलोकन नै हो । कायरोको चारतारे होटल ‘टिवा पिरामिड’बाटै देखिने मिश्रेली ऐतिहासिक पहिचान पिरामिडको रात्रि रूप वर्णित छ । मिश्रेली प्राचीन सभ्यताको धरोहर काखमा राखेको कौतुकमय अल–काहिरा एउटा रहस्यमय अभिभूत अस्तित्व सम्हालेर बसेको छ ।
कायरो म्युजियमको यात्रामा नियात्राकारले खोजेको इतिहास असाध्यै लोभलाग्दो छ । इजिप्टका प्राचीनकालीन बाइस वंशका फेरोहरू (मिश्रेली राजा)का विशाल मूर्तिहरू र अन्य धेरै स–साना मूर्ति मिश्रेली इतिहासका प्रामाणिक दस्ताबेजझैँ लाग्छन् । पथप्रदर्शक र छोरी मेघासँग कुरा गर्दै लिएको जानकारीमार्फत भीमकाय कायरो म्युजियमलाई अक्षरीकृत गर्दा वास्तवमा मिश्रको प्राचीन इतिहास पाठकसम्म अद्भुत रोचकता लिएर प्रस्तुत भएको छ । लेखक आफू त्यो इतिहाससँग साक्षात्कार भइरहँदा पाठकलाई पनि लाग्छ ऊ पनि इल्या भट्टराईकै छेउमा उभिइरहेको छ । नियात्रा ‘इतिहाससँग साक्षात्कार’मा कायरो म्युजियमले प्राचीनकालीन मिश्रेली राजामा मृत्युपछिको जीवनको प्यार अत्यधिक रहेको देखिन्छ ।
कायरोको परम्परा, सौन्दर्य, संस्कृति र वातावरण संरक्षण र सरसफाइको जानकारी गराउँदै नियात्रा ‘मृत्युपछिको जीवनतृष्णा’ले फेरोहरूका ममी (मृत शरीरको रूप), ममी राखेका सर्काफगस (कफन)हरूको नजर गराउँछ । खासमा यस नियात्राबाट पाठकले त्यसबखतका राजाहरू र धनीमानी व्यक्तिले जीवनलोकलाई भन्दा परलोकलाई बढी महìव दिएर ममी र सर्काफगस निर्माणमा ठुलो धनराशि खर्च गर्ने गरेको जानकारी प्राप्त गर्छन् । प्राचीनकालीन मिश्रेलीहरू मृत्युपछिको जीवनतृष्णाले असाध्यै ब्याकुल रहेछन् । अर्को नियात्रा ‘आइसिसका आँसु’मा नाइल नदीको बाढी र वेगलाई रोक्ने बढेमानको बाँध र त्यसबाट बनेको लेक नासर नियात्राकारले हेरिरहँदा पाठकलाई पनि आफैँले हेरिरहेजस्तै लाग्छ । देवी आइसिस आफ्ना स्वर्गीय पति ओसिरिसको यादमा जब रुन्छिन् अनि मात्र नाइलमा बाढी आउँछ भन्ने प्राचीन जनविश्वासले नाइलको बाढीलाई आइसिसको आँसु ठान्ने किंवदन्तीसँग जोडेको रहेछ । पालवाला डुङ्गामा नाइल नदीको सयर गर्दा फेवातालको डुङ्गा सयरको याद नियात्राकारको सम्झनामा आउँछ र नेपाली पाठकसम्म फैलिन्छ । क्रुजमा बितेका दिनहरू, रातहरू, त्यहाँ आयोजित रमाइला कार्यव्रmमहरू, अति प्राचीन ऐतिहासिक मन्दिरको भ्रमण, मन्दिरमा प्रस्तुत कलाकारिता, रानी क्लियोपेट्राको सक्कली र नक्कली कहानी, इड्फु सहरको यात्रा, होरस र वाज देवताका मन्दिरको बयानलाई ‘साँझको नाइल र फेलुक्का सयर’, ‘क्रुज मा पहिलो रात’, ‘हराएको आकाश देवताको मन्दिर’ शीर्षकका नियात्राहरूले पाठकसम्म पुु¥याएका छन् ।
लक्जर सहरको यात्रा, ढुङ्गामा अपत्यारिला ठुला मूर्तिहरू, फेरोहरूका चिहान, चिहान र कफनमा कुँदिएका कलाकारिता, परलोक सुखका लागि फेरोहरूका चिहानमा राखिएका सुनचाँदी, मुकुट र अन्य बहुमूल्य वस्तुहरू एवं धनदौलत चोरिने गरेका कथा, धार्मिक विश्वास र अन्धविश्वास समेटिएका छन् ‘राजाहरूको उपत्यका’ शीर्षकको नियात्रामा । यसैमा महान् एवं शक्तिशाली फेरोका रूपमा आजसम्म पनि आदर सम्मान प्राप्त रानी होत्सेप्सुट र उनको शासनका बारेमा जानकारी प्रशस्त भेटिन्छ । प्राचीन थिब सहरका अनेकन् ऐतिहासिक मन्दिरको चर्चा गरिएको छ ‘आमुन–रा देउताको कार्नाक’ नियात्रामा । सहारा मरुभूमिको यात्रा, लालसागर र लालसागरको किनारमा विकसित हुर्गाधा सहरका विवरण प्रस्तुत भएका छन् नियात्रा ‘लालसागरको किनारमा’ । ‘मिश्रमा अन्तिम दिन’ यात्राको विवरण प्रस्तुत भएको अन्तिम नियात्रा हो । मिश्रको राजनीतिलाई उद्घाटित गर्ने यो नियात्राले त्यहाँको चर्चित तहरिर स्क्वायरको आन्दोलन, दमन, महिला स्वतन्त्रता, पर्यटन मजदुरका कथा–व्यथा उजागर गरेर मिश्रबाट बिदा मागेको छ । अन्त्यमा शीर्षक राखेर लेखकद्वारा ‘मिसर’ नियात्रा सङ्ग्रह लेखेका क्षण र प्रकाशनको व्यवस्थापन समेतलाई प्रस्तुत गरेर पुस्तकको बिट मारिएको छ ।
यो नियात्रा सङ्ग्रह तयार गर्दा गन्तव्यको भूगोल, परम्परा र ऐतिहासिकता, त्यहाँको संस्कृति, राजनीति, पर्यावरण, जीवनशैली आदिमाथि सूक्ष्म अवलोकन, सत्यतथ्य स्थापनाका लागि सन्दर्भ सामग्रीको गहिरो अध्ययन, लेखनमा कलात्मक एवं रोचक शैलीको अवलम्बन नियात्राकारले नियात्रा विधा र त्यसका पाठकप्रति गरेको ठुलो न्याय मान्न सकिन्छ । नेपाली नियात्रा साहित्यमा नियात्राकार इल्या भट्टराईको ‘मिसर’ नियात्रा सङ्ग्रह वर्तमान समयको उत्कृष्ट उपलब्धि बनेको छ ।