• ११ पुस २०८१, बिहिबार

विद्युत् अभावमा चिस्यान केन्द्र अलपत्र

blog

बुलबुले समाचारदाता

सुर्खेत, जेठ ६ गते । पूर्वी सुर्खेतको भेरीगङ्गामा निर्माण गरिएको चिस्यान केन्द्र विद्युत् अभावले बन्द भएको छ। दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र दुई वर्ष जेनतेन चलेको थियो। आर्थिक वर्ष २०७३/७४ देखि निर्माण सुरु गरिएको कोल्ड स्टोर आव २०७७/७८ बाट आंशिक सञ्चालनमा ल्याइएको थियो। तीन करोड लगानीमा निर्माण गरिएको चिस्यान केन्द्र विद्युत् आपूर्ति सहज नहुँदा बन्द भएको साना किसान कोल्ड स्टोरकी अध्यक्ष ज्ञानु भुसालले जानकारी दिनुभयो।

चिस्यान राख्न सहयोग पु-याउने मेसिन बिग्रेकाले कोल्ड स्टोरको काम रोकिएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “सञ्चालनमा आएको दुई वर्ष धौ धौमा सञ्चालन भएको थियो, अहिले मेसिन बिग्रेकाले सञ्चालनमा छैन।”

कोल्ड स्टोर सञ्चालनमा आएसँगै किसानलाई सहज भएको थियो। छिमेकी जिल्ला सल्यानका किसानले समेत चिस्यान केन्द्रबाट राहत पाएको उहाँले बताउनुभयो। स्टोरमा दुई सय मेट्रिक टन भण्डारण गर्ने क्षमता छ। विद्युत् आपूर्ति सहज नहुँदा सञ्चालन गर्न समस्या भइरहेको छ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भेरीगङ्गा र गुर्भाकोट नगरपालिका, साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिजमएफपी), नारी जागरण बहुउद्देश्यीय कृषक समूह र साना किसान सहकारी संस्थाको लगानीमा उक्त कोल्ड स्टोर सञ्चालन गरिएको थियो। 

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१२ मा सञ्चालित कर्णाली डेबरेज चिस्यान केन्द्र सञ्चालनमा पनि कठिनाइ भएको छ। कर्णाली डेबरेज इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित कोल्ड स्टोर चालु आर्थिक वर्षदेखि सञ्चालनमा आएको हो। कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र प्रालिको ५०/५० प्रतिशत अनुदानमा कोल्ड स्टोर सञ्चालन गरिएको हो। मन्त्रालयको ५० लाख र प्रालिको ५० लाख लागतमा स्टोर सञ्चालन गरिएको हो। विद्युत् नियमित नहुँदा स्टोरमा राखेको सुन्तला कुहिएर गएको प्रालिका सञ्चालक दलबहादुर शाहले बताउनुभयो। 

उहाँका अनुसार स्टोरमा किवी र सुन्तला राखिएको थियो। विद्युत् नियमित नहुँदा कोल्ड स्टोर सञ्चालन गर्न हम्मेहम्मे भइरहेको उहाँले बताउनुभयो। जेनेरेटरबाट सम्भव छैन। किसानले राम्रो मूल्य पाउने आसमा स्टोरमा राख्छन् तर कुहिएर जान्छ। स्टोरको क्षमता दुई सय मेट्रिक टनको छ। विद्युत्का कारण स्टोर सञ्चालनमा समस्या भएको शाहीले बताउनुभयो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीमा ठूला दुई सय मेट्रिक टन क्षमताका चार वटा कोल्ड स्टोर सञ्चालन गरिएको जनाएको छ। १३२ केभिए विद्युत् प्रसारण लाइन नहुँदासम्मका लागि मन्त्रालयले कोल्ड स्टोर नयाँ थप निर्माण नगर्ने भएको छ। मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले विद्युत् आपूर्ति सहज नहुँदा कोल्ड स्टोर सञ्चालन गर्न नसकिने अवस्था रहेको जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “प्रदेशमा ठूला कोल्ड स्टोर चार वटा छन्। नयाँ वीरेन्द्रनगरमा निर्माणको क्रममा छ। विद्युत्को भोल्टेज नपुग्दा फलफूल तथा तरकारी कुहिने र किसानलाई लाभ हुनुभन्दा घाटा हुने गरेको छ।” मन्त्रालयले १३२ केभिए प्रसारण सुरु नहुँदासम्म नयाँ कोल्ड स्टोरका कार्यक्रममा अनुदान नदिने जनाएको छ।