• ५ जेठ २०८१, शनिबार

करोडौँको शीत भण्डार प्रयोगविहीन

blog

सैलुङमा निर्मित शीत भण्डार । तस्बिर बाबुराम शर्मा

दोलखा, जेठ ६ गते । दोलखाको सैलुङ गाउँपालिका–३ बोथ्लेमा  निर्मित करोडौँको शीत भण्डार सञ्चालनमा आउन नसक्दा प्रयोगविहीन बनेको छ । बागमती प्रदेशको छ करोड लगानीमा निमार्ण भएको शीत भण्डार तरकारी र आलु पकेट क्षेत्रका किसानले उत्पादित वस्तुलाई राख्न चासो नदिएपछि सो भण्डार प्रयोगविहीन बनेको हो ।  
प्रदेशकै ठुलो तीन सय मेट्रिक टन क्षमताको यो भण्डारमा किसानले उत्पादन गरेका वस्तुहरू राख्न नै इच्छा नदेखाएकाले खाली बसेको स्थानीय मोहनसिंह तामाङले जानकारी दिनु भयो । निर्माण सम्पन्न भई शीत भण्डारमा आवश्यक सबै उपकरण जडान भै सकेका छन् । किसानले बारीबाटै सिधै व्यापारीलाई उत्पादित वस्तु बिक्री गरेपछि भण्डार खाली भएको हो । सैलुङ आलु पकेट क्षेत्रका रूपमा रहे पनि किसानले निर्मित भण्डार अपायक स्थानमा बनेकाले राख्न इच्छा नै नदेखाए उहाँले स्पष्ट पार्नु भयो । 
यहाँ उत्पादित किवी र तरकारी समेत किसानले शीत भण्डारमा राखेका छैनन् । गाउँपालिकाले निश्चित रकम लिएर किसानलाई भण्डार प्रयोग गर्न दिने सूचित गर्दै आएको छ । भण्डार व्यवस्थापनको कार्यविधि बनाएर सञ्चालनको तयारी भइरहेको पालिकाले जनाएको छ ।
Author

बाबुराम शर्मा