• १३ असोज २०८१, आइतबार

आफ्नै भवनबाट सेवा प्रवाह सुरु

blog

लिम्बुदिनको नवनिर्मित वडा कार्यालय भवन।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ४ गते। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनले आफ्नै नव–निर्मित कार्यालय भवनबाट सेवा प्रवाह गर्नु सुरु गरेको छ। भवन निर्माण सम्पन्न भएसँगै लिम्बुदिनले आफ्नै वडा कार्यालय भवनबाट सेवा सुरु गरेको हो। 

लिम्बुदिनका वडाध्यक्ष अम्बरबहादुर इधिङ्गो लिम्बूले बुधबारदेखि आफ्नै भवनबाट सेवा दिन थालेको बताउनुभयो। वडाध्यक्ष लिम्बूका अनुसार वडाले आफ्नै नवनिर्मित कार्यालय भवनबाट सेवा सुरु गरेपछि वडाबासी सेवाग्राहीले थप राहतको महशुस गरेका छन्। 

आफ्नै कार्यालय भवनबाट वडाबासीलाई सेवा प्रवाह गर्नु पाउँदा खुसी लाग्नुका साथै वडाको प्रशासनिक लगायतका कार्य गर्नलाई सहज विश्वास लिएको वडाध्यक्ष लिम्बूले बताउनुभयो। उहाँका अनुसार पाँचथर फिदिमको निर्माण कम्पनी बङ्गलामुखी कन्स्ट्रक्सनले कार्यालय भवन निर्माण गरेको हो। 


कुल ९२ लाख ३५ हजार ४२४ रुपियाँको लागतमा भवन निर्माण सम्पन्न गर्नेगरी २०७८ असार २ गते सिदिङ्वा गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भएको थियो। वडाध्यक्ष लिम्बूका अनुसार तोकिएभन्दा केही समयपछि मात्र भवन निर्माण कार्य भने सम्पन्न भएको हो। 

उक्त भवन निर्माणका लागि स्थानीय गुरुप्रसाद लिम्बू र श्रीमती धनमाया लिम्बूले तीन रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो। नवनिर्मित दुईतले भवनमा सातवटा कोठा रहेका छन्। नव निर्मित भवनको पालिका अध्यक्ष मानबहादुर राई र उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दनाले) संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो।