• १३ असोज २०८१, आइतबार

सार्वजनिक जग्गा खाली गर्दै त्रियुगा नगरपालिका

blog

सार्वजनिक जग्गामा बनेका घर टहरा भत्काउँदै त्रियुगा नगरपालिकाको डोजर । तस्विर : भक्तिविलास पोखरेल । गाईघाट

भक्तिविलास पोखरेल 

गाईघाट, जेठ ४ गते । उदयपुरको त्रियुगा नगरपालिकाले नगर क्षेत्र भित्रको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काएर सरकारी सम्पत्तिको संरक्षण अभियान सुरु गरेको छ । जिल्ला अदालत उदयपुर र उच्च अदालतको आदेश अनुसार त्रियुगा नगरपालिकाले वडा नं. १२ मा सार्वजनिक जग्गामा बनेका घर टहरा हटाउन सुरु गरेको हो । 

स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ बमोजिम सार्वजनिक ऐलानी तथा पर्ती जग्गाको रेखदेख, संरक्षण र उपभोग गर्नुभन्ने सम्मानित अदालतको आदेश बमोजिम जग्गा खाली गरिएको त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतले बताउनुभयो । 

सार्वजनिक जग्गामा बनाइएका स्थानीय सनावती चौधरी, महावीर चौधरी, प्रमीला चौधरी, निर्मला चौधरी र रमेश चौधरीको घर तथा टहरा हटाउन पटकपटक सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेपछि नगरपालिकाले बिहीबार जिल्लास्थित सुरक्षा निकायकोसमेत सहयोगमा बल प्रयोग गरेर त्यहाँ बनेका नौ वटा घर टहरा हटाएको नगर प्रमुख बस्नेतले बताउनुभयो ।

जिल्ला अदालत उदयपुरको २०७४ साल फागुन २० गते र उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाको २०७६ भदौ २४ गतेको आदेश अनुसार प्रतिवादीहरूले करिब नौ कठ्ठा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको घर टहरा खाली गर्नु भनी फैसला गरेकोले अदालतको आदेश कार्यान्वयन गरिएको वडा नं १२ का कार्यवाहक वडा अध्यक्ष अनिता थापाले बताउनुभयो ।  

अब खाली गरिएको सो जग्गामा नगर कार्यपालिकाद्धारा वडा नं १२ को वडा कार्यालय र सहरी विकास कार्यालयको भवन निर्माण गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।