• १३ साउन २०८१, आइतबार

झापामा रेलमार्ग बाहिरको जग्गा फुकुवा

blog

विष्णुप्रसाद पोखरेल

दमक, जेठ ४ गते । झापामा रेलमार्गका लागि निर्धारण भएको जग्गाभन्दा बाहिरको जग्गा फुकुवा भएको छ । मेट्रो रेल तथा मोनो रेल विकास आयोजना रेल योजना कार्यालय दमकले रेलमार्ग पनि जिल्लाका पालिकाहरूलाई पत्र पठाउँदै जग्गा फुकुवा गरेको जानकारी दिएको बताइएको छ ।

मेचिनगर नगरपालिका, बिर्तामोड नगरपालिका, कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकालाई रेल योजना कार्यालयले पत्र पठाउँदै रेलमार्ग क्षेत्र बाहिरको जग्गा फुकुवा भएको जानकारी दिएको हो । रेलमार्ग बाहिरको जग्गा फुकुवा गर्न जग्गाधनीहरूले बारम्बार आग्रह गर्दै आएका थिए ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७७/०४/९९ मा भएको निर्णयबाट रेलमार्गका लागि निर्धारण भएको क्षेत्रभन्दा बाहिरको जग्गा फुकुवा गर्ने सम्बन्धमा मिति २०८०/०१/१४ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय भएको जानकारी सम्बन्धित पालिकाहरूलाई गराइएको छ ।

योजना प्रमुख सञ्जय पन्थीले हस्ताक्षर गरेको पत्रमा जग्गा फुकुवाको निर्णय कार्यान्वयनका लागि मातहतका सम्बन्धित शाखा तथा वडा कार्यालयहरूलाई जानकारी गराउनका लागि उल्लेख रहेको छ । दमक वडा नं. ९ का वडाध्यक्ष कुवेर भट्टराईले पत्र प्राप्त भएको र अब सोही अनुसार गरिने बताउनुभयो । गत वैशाख २० गतेको मितिमा चलानी नं. ५४ को पत्र प्राप्त भएको उहाँको भनाइ छ ।

तीन दिनअघि रेल योजना कार्यालय दमकमा रेलमार्गमा नाममा जनताको जग्गा रोक्का राखेर अन्याय गरेकाले जग्गा फुकुवा गर्न लगायतका विभिन्न माग राख्दै वाईसिएल दमकले तालाबन्दी पनि गरेको थियो । भोलिपल्ट नै तालाबन्दी खोलेर कार्यालय भने सुचारु भएको बताइएको छ ।