• ४ जेठ २०८१, शुक्रबार

राष्ट्रिय सभा बैठक : संयुक्त समितिका लागि सदस्यको नाम प्रस्ताव हुने

blog

राष्ट्रिय सभा बैठक । फाइल तस्बिर

काठमाडौं, जेठ ४ गते । शुक्रबार बस्ने राष्ट्रिय सभा बैठकमा संयुक्त समितिमा सदस्यको नाम प्रस्ताव हुने कार्यसूची रहेको छ ।

सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले बिहीबार सार्वजनिक गर्नुभएको सम्भावित कार्यसूचीमा ‘‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संशोधन मस्यौदा समिति’’का लागि सदस्यको नाम प्रस्ताव हुने कार्यसूची रहेको जानकारी दिनुभयो ।

यसैगरी, महासचिव गौतमले ‘‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संशोधन मस्यौदा समिति’’ गठन सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुहुने छ ।

त्यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मन्त्री धनराज गुरुङले ‘‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० स्वीकृत गरियोस्’’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ‘‘कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ फिर्ता लिने अनुमतिको प्रस्ताव’’ प्रस्तुत गर्नुहुने ।