• ४ जेठ २०८१, शुक्रबार

कानुन न्याय तथा मानवअधिकार समितिद्वारा आन्तरिक कार्यविधि पारित

blog

कानुन, न्याय तथा मानवअधिकार समिति बैठक ।

काठमाडौं, जेठ ४ गते । कानुन, न्याय तथा मानवअधिकार समितिले आफ्नो आन्तरिक कार्यविधि पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकले उक्त आन्तरिक कार्यविधि पारित गरेको हो ।

समितिमा आन्तरिक कार्यविधिका विषयमा सांसदहरूसँगको छलफल पश्चात् समिति बैठकले आन्तरिक कार्यविधि सर्वसम्मत पारित गरेको हो ।

समितिका ज्येष्ठ सदस्य सभापति मङ्गलप्रसाद गुप्ताको सभापतित्वमा बसेको बैठकमा सभापति गुप्ताले उक्त कार्यविधि सर्वसहमतले पारित भएको घोषणा गर्नुभयो । उहाँले बिहीबारको बैठकमा प्रस्तुत भएको समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित भएको बताउनुभयो ।

समितिले पारित गरेको आन्तरिक कार्यविधिमा समितिको बैठकमा बिना सूचना निरन्तर पाँच वटा बैठकमा सांसदहरू अनुपस्थित रहे समिति सदस्यबाट निष्कासनमा पर्नसक्ने व्यवस्था गरेको छ ।

कार्यविधिमा  पाँच वटा बैठकसम्म निरन्तर उपस्थित हुन नसक्ने भए समिति सभापतिलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था छ । आजको बैठकमा समितिका ज्येष्ठ सदस्य शेरबहादुर देउवा उपस्थित नभएपछि  देउवा पछिका ज्येष्ठ सदस्य गुप्ताको सभापतित्वमा समितिको बैठक बसेको थियो ।