• २६ वैशाख २०८१, बुधबार

सुनकोसी–३ जलविद्युत् संयुक्त कम्पनी स्थापनाको सहमति

blog

काठमाडौं, जेठ ४ गते । ६८३ मेगावाटको सुनकोसी –३ जलाशय जलविद्युत् आयोजना निर्माणका लागि नेपाल र बङ्गलादेशबीच संयुक्त कम्पनी स्थापना गर्ने सहमति भएको छ । बङ्गलादेशको पतुवाखालीमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिले नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डको संयुक्त स्वामित्व स्थापित हुने गरी आगामी छ महिनाभित्र संयुक्त कम्पनी स्थापनाको सम्झौता गर्ने गरी समझदारी भएको हो ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे तथा बङ्गलादेशको विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानको सह-अध्यक्षतामा बैठक भएको थियो । पाँचौँ चरणको यो बैठकले बङ्गलादेशमा नेपालको विद्युत् निर्यात हुन सक्ने अवस्था बनाउन भारतसँग त्रिपक्षीय सम्झौताको पहल गर्ने पनि निर्णय गरेको छ । यो सम्भव बनाउन पहिलो चरणमा ४० मेगावाट विद्युत् निर्यातको पहल हुनेछ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् बङ्गलादेशले खरिद गर्ने गरी छिट्टै विद्युत् खरिदबिक्री सम्झौता (पावर सेल्स एग्रिमेट) गर्ने जानकारी बङ्गलादेशका अधिकारीले बैठकमा गराएका थिए ।

भारतले नेपालबाट ५० मेगावाटसम्म विद्युत् भारत पुर्‍याउन विभिन्न छलफलमा सकारात्मक प्रतिक्रिया दिए पनि कार्यान्वयनमा भने ल्याएको छैन । यसका लागि आवश्यक त्रिपक्षीय बैठक पनि बस्न सकेको छैन । मङ्गलबार सम्पन्न बैठकले नेपाल, बङ्गलादेश र भारतबिच विद्युत् व्यापार अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विद्युत् क्षेत्रमा सहकार्य गर्न उच्चस्तरीय त्रिपक्षीय प्रशासनिक संयन्त्र स्थापना गर्न पहल गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाल–बङ्गलादेश अन्तरदेशीय प्रसारण लाइनका सम्भाव्य विकल्पको अध्ययन गरी छ महिनाभित्र प्रतिवेदन पेस गर्न संयुक्त प्राविधिक समितिलाई पनि कार्यभार दिइएको छ ।

सन् २०१८, अगस्ट १० मा ऊर्जा क्षेत्रमा सहकार्यका लागि सम्पन्न समझदारीको दफा ५ को व्यवस्था अनुसार उक्त सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण, निर्देशन एवं यस सम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न सचिवस्तरीय निर्देशक समिति (जेएससी) तथा सह-सचिवस्तरीय कार्यदल (जेडब्लुसी) गठन गरिएको थियो ।