• १३ साउन २०८१, आइतबार

भ्रष्टाचार नियन्त्रणमा राज्यका सबै निकाय जिम्मेवार हुनुपर्छ : महालेखापरीक्षक शर्मा

blog

काठमाडौं, जेठ ३ गते । महालेखापरीक्षक टङ्कमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरू जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले बुधबार आयोजना गरेको ‘सुशासन प्रवर्द्धनमा नागरिकको भूमिका’ विषयक कार्यक्रममा बोल्दै महालेखापरीक्षक शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरू बराबरी जिम्मेवार हुनुपर्ने बताउनुभएको हो । 

उहाँले राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरू पनि भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार हुनुपर्ने बताउनुभयो । त्यसका साथै नागरिक पनि जिम्मेवार हुनुपर्ने उहाँको भनाई छ । उहाँले राज्यका निकायहरुकाबीच एकले अर्कोलाई जिम्मेवारी पन्छाउने गर्नाले अनियमितता र भ्रष्टाचार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले जुन हामीले रणनीति अपनाइरहेका छौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले, सतर्कता केन्द्रले, अथवा एउटा कुनै कार्यालयले भ्रष्टाचार नियन्त्रण गर्ने अरू सबै चाहिँ गर्नका लागि स्थापना भएका हुन् ती सबै अफिसहरू । सबै निकायहरू गर्नका लागि स्थापना भएका हुन् त ? सबै निकायहरू उत्तिकै जिम्मेवार हुनुपर्‍यो नि । सबै पदाधिकारी उत्तिकै जिम्मेवार हुनुपर्‍यो । सबै राज्यका जिम्मेवार पदमा पुगेका व्यक्तित्वहरू उत्तिकै जिम्मेवार हुनुपर्‍यो । अझ नागरिक पनि उत्तिकै जिम्मेवार हुनपर्‍यो । सबैले जिम्मेवारी एकअर्कामा पन्छाउने सिलसिलाले गर्दा, यसले हेर्ने हो, उसले हेर्ने हो भन्ने सिलसिलामा धेरै यस्ता अनियमितताहरू, विकृतिहरू, बेथितिहरू, भ्रष्टाचारका कुरा भएका छन् । त्यसमा सुधार हुनुपर्छ ।’’ 

उहाँले भन्नुभयो, ‘‘नागरिकको भूमिका निगरानीकै कुरा हो । खबरदारीको कुरा हो । तेस्रो कुरा नागरिकहरू आफू संलग्न हुनुभएन । भ्रष्ट गतिविधिहरू, भ्रष्ट अभ्यासहरूमा आफू संलग्न हुनुभएन । अहिले गाउँगाउँसम्म भ्रष्टाचार बिस्तार भएको अवस्था छ । नागरिक आफू सचेत हुनुपर्ने अवस्था रह्यो । खबरदारी गर्नुपर्‍यो । आफ्नो नजिकको स्थानीय तहमा, अथवा सरकारले गरिरहेका काम, कारबाहीको निगरानी गर्नुपर्‍यो । सरकारको कामको चासो राख्नुपर्‍यो ।’’

उहाँले भ्रष्टाचार हुन नदिन नागरिकले राज्यको निकायहरूमा निगरानी र खबरदारी गर्नुपर्ने बताउनु भयो । नागरिकहरू आफैँपनि भ्रष्ट गतिविधि र अभ्यासहरूमा संलग्न हुनु नहुने उहाँको भनाई छ । उहाँले अहिले गाउँगाउँसम्म भ्रष्टाचार बिस्तार भएको उल्लेख गर्दै नागरिकहरूले स्थानीय तहले गरेका काम, कारबाहीहरूमा निगरानी र चासो राख्नुपर्नेमा जोड दिनुभयो ।