• ४ जेठ २०८१, शुक्रबार

नीति तथा कार्यक्रममा निजगढ विमानस्थललाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष नेपाल

blog

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा सहभागी पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पर्यटनमन्त्री सुदन किरातीलगायत सहभागी । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं, जेठ २ गते। सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गर्नुभएको छ। 

अध्यक्ष नेपालले सो विमानस्थलको कामलाई अगाडि बढाउनका लागि सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख नगरिएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति असन्तुष्टिसमेत व्यक्त गर्नुभयो। 

मंगलबार सङ्घीय संसद् अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उहाँले सो विमानस्थलको महत्त्व अर्थमन्त्री महतले नबुझेको कि भनेर प्रश्नसमेत गर्नुभयो। अध्यक्ष नेपालले मुलुकको गेम चेन्जर प्रोग्रामको रूपमा रहेको सो विमानस्थललाई अघि बढाउन संसदीय समितिलाई पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘‘पर्यटनसँग पनि जोडिएको, नागरिक उड्डयनसँग पनि जोडिएको र मलाई पनि सधैँभर त्यसले घच्घच्याई रहेको त्यो निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने मलाई शङ्का र डर पनि लाग्न थालेको छ। कतिचोटी मैले प्रयास गरेँ। अहिलेको भन्दा पहिलेका प्रधानमन्त्रीजीलाई यो शिलान्यास गरौँ भनेर यो समितिले पनि त्यहाँको अध्ययन गरेर अनेकौँ खालको बाधा, अवरोधलाई पन्छाएर बल्लबल्ल निजगढमा विमानस्थल बनाउन उपयुक्त हुन्छ भनेर निष्कर्षमा पुग्ने काम भएको थियो। त्यसलाई उच्चतम प्राथमिकता दिइयोस्। राष्ट्रिय बजेटमा पनि, सरकारको नीति तथा कार्यक्रममा पनि र यो समितिको काममा पनि ध्यान दिइयोस्। त्यसलाई समावेश गरियोस् भनेर म विशेष जोड दिन चाहन्छु।’’

अध्यक्ष नेपालले आफूले जति कोसिस गर्दा पनि सो विमानस्थलको काम अघि बढ्न नसकेको गुनासो पनि पटकपटक गर्नुभयो। उहाँले ठूला शक्ति राष्ट्रसँगको कूटनीतिक सम्बन्धलाई विशेष ख्याल गरेर अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आवश्यक निर्देशन सरकारलाई दिनुपर्ने बताउनुभयो।