• १३ साउन २०८१, आइतबार

दाङमा फस्टाउँदो पानी उद्योग

blog

लीलाधर वली 

घोराही, जेठ १ गते । दाङमा पानी उद्योगमा करिब १२ करोड लगानी भएको छ । शुद्ध पिउने पानी बजारमा पु-याउने उद्देश्यले व्यवसायीले जिल्लाका विभिन्न स्थानमा रहेका १८ वटा पानी उद्योगमा करिब ११ करोड ९९ लाख ४७ हजार आठ सय ७२ रुपियाँ लगानी गरेका छन् । 

जिल्लामा सञ्चालनमा आएका पानी उद्योगमा चालु पुँजी दुई करोड ७६ लाख २० हजार एक सय रुपियाँ रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत विक्रम केसीले जानकारी दिनुभएको छ । अधिकृत केसीका अनुसार उद्योगहरूको स्थिर पुँजी नौ करोड २३ लाख २७ हजार सात सय २३ रुपियाँ रहेको छ ।  

१८ वटा पानी उद्योग आरोग्य मिनिरल वाटर एन्ड जुस उद्योग, राप्ती ड्रिङ्क वाटर उद्योग, राम्री ड्रिङ्किङ वाटर उद्योग, ओम ड्रिङ्किङ वाटर एन्ड जुस उद्योग, स्वर्गद्वारी ड्रिङ्किङ वाटर उद्योग, साङ्ग्रिला ड्रिङ्किङ वाटर एन्ड वेभरेज प्रालि, गौतम जल सेवा, श्री राइराम ड्रिङ्किङ वाटर उद्योग र लमही खानेपानी उद्योग गरेर ९/३ ‘क’ साना वर्गका पानी उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ । जसमा सबैभन्दा धेरै प्रशोधित पानी उत्पादन गर्ने १२ वटा उद्योग रहेको अधिकृत केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ड्रिङ्किङ वाटर तथा फ्लेवर ड्रिङ्स पानी उत्पादन गर्ने दुई वटा मिनरल वाटर उत्पादन, पानी तथा आइस पप जुस उत्पादन गर्ने, मिनरलसहित पानी तथा जुस उत्पादन गर्ने एक एक वटा उद्योग रहेका छन् ।  

त्यसै गरी डायनामिक वाटर एन्ड वेभरेज उद्योग १५/२ ‘ख’, एसएमबी ड्रिङ्किङ वाटर एन्ड वेभरेज प्रालि, वाल्मीकि जल सेवा, हाइल्यान्ड लोइङ इन्डस्ट्रिज, गोरक्ष फुड एन्ड वेभरेज उद्योग १५/२ ‘ख’, रारा प्रोसेसिङ प्रालि १५/२ ‘ग’ वर्ग, भद्रकाली ड्रिङ्किङ वाटर १५/२ ‘ज’ वर्गका रहेका छन् । जिल्लाका पानी उद्योगमध्ये राम्री ड्रिङ्किङ वाटर र स्वर्गद्वारी बिजनेस ग्रुपद्वारा सञ्चालित पानी उद्योगको भने वर्ग खुलेको छैन ।अधिकांश उद्योगले भूमिगत पानी प्रशोधन गरेर बिक्रीवितरण गर्ने गरेको घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत विक्रम  केसीले बताउनुभयो । अधिकृत केसीले भन्नुभयो, “जिल्लामा सञ्चालित अधिकांश पानी उद्योगले भूमिगत पानी प्रशोधन गरेर जनतालाई बिक्री  गर्ने गरेका छन् ।” 

दाङसहित साबिकको राप्ती क्षेत्रमा बढ्दो सहरीकरणसँगै पछिल्लो समय मानिसमा शद्ध पिउने पानी खानुपर्छ भन्ने ज्ञान भएसँगै जिल्लामा खानेपानीका उद्योगमा लगानी बढ्दै गएको अधिकृत केसीले बताउनुभयो ।