काठमाडौं, वैशाख २९ गते। जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ। २०७२ को महाभूकम्प र ‘फ्यामिली मिसिङ’ को कथावस्तु समेटिएको फिल्मको कोरोना–लकडाउनको बेला हल बन्द भएपछि रिलिज रोकिएको थियो। दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन तथा लेखक फूलमान वलले गर्नुभएको हो। शुक्रबार सार्वजनिक ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पत्तिको संघर्ष देखिन्छ।
पटकथा लेखकसमेत रहनुभएका निर्देशक वलले भूकम्पले भत्काएका मनलाई फिल्म ‘नीरफूल’मार्फत जोड्ने प्रयास गर्न खोजेको जानकारी दिनुभयो। ‘‘भुकम्पपछि भौतिक पुर्ननिर्माण त भयो, तर भत्किएका सम्बन्धको पुर्नर्निमाण अझै बाँकी छ’’, उहाँले भन्नुभएको छ, ‘‘नीरफूल तिनै भत्किएका सम्बन्धको सानो कथा हो।’’ अभिनेता दयाहाङ राईले स्क्रिप्ट लोभ लागेकै कारण अरु फिल्मको व्यस्त भए पनि ‘नीरफूल’लाई समय निकालेर रुवी भ्याली पुगेको बताउनुभयो। ‘‘अन्य फिल्ममा भन्दा निकै फरक भूमिका यो फिल्ममा गरेको छु’’, उहाँले भन्नुभयो।
धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौंमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा हुनुहुन्छ। सचिन घिमिरे एशोसियट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले छायांकन गर्नुभएको हो। चलचित्रको सम्पादमा निमेष श्रेष्ठको मिहेनत देख्न सकिन्छ भने अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ।
नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको समेत अभिनय रहेको छ। सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठलगायत हुनुहुन्छ।