शिवा तामाङ
काठमाडौँ, वैशाख २९ गते । तामाङ समुदायमा गाइँदै आएका भाकाहरूको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक ती भाकाको नोटेसन (लिपि) र राग तयार गरिएको छ । सर्लाहीको घुर्कौलीका गायक/सङ्गीतकार शुभ घलान तामाङले ललितकला क्याम्पसमा गीत/सङ्गीत विषय अध्ययन गर्ने क्रममा तामाङ समुदायले सदियौँदेखि गाउँदै आएका फापरे भाका, सेलो भाका, खान्दोके भाकालगायतका गीतका राग र नोटेसन नै फेला पार्न नसकेपछि ती गीतका लिपि र राग बनाउने अभिप्रायले अनुसन्धान सुरु गरेको बताउनुभयो ।
सङ्गीतको विद्यार्थीका नाताले गीत, भाकाका लिपि र रागको महत्त्व बुझेपछि २०५५ सालदेखिको निरन्तर खोज, अनुसन्धान र निकै मेहनतपछि २५ वर्षको अवधिमा फापरे, सेलो र खान्दोके भाकाका १४ वटा गीतका राग र नोटेसन समेटेर ‘सेलो राग’ पुस्तक तयार गरेको उहाँको भनाइ छ ।
उहाँका अनुसार कुल जनसङ्ख्याको ५.११ प्रतिशत तामाङ समुदायमा सङ्गीतका तीन विधा गायन, वाद्य र नृत्यका शास्त्रीय सिद्धान्त मौखिक रूपमा मात्र जीवित छन् । समुदायमा जन्मदेखि मृत्यु संस्कारसम्म तामाङ भाषाको आफ्नै लयमा ताम्बा (गायक) ले गाउने, डम्फु बजाउने र त्यही लयमा नाच्ने सभ्यता मौखिक रूपमै पुस्तान्तरण हुँदै आएकामा हाल आधुनिक जीवनशैली अपनाउने नयाँ पुस्ताले सिक्न नखोज्दा लोप हुन सक्ने भएकाले सेलो राग पुस्तक तयार गरिएको हो ।
पुस्तक प्रकाशनमा तामाङ डाजाङ (मञ्ज) ले सहयोग गरेको छ । डाजाङका अध्यक्ष फूलकुमार बम्जनले विगत २२ वर्षदेखि तामाङ भाषाका गीत, गजल, कविताका लागि मञ्च उपलब्ध गराउँदै आउनुभएको छ । उहाँले तामाङ समुदायमा प्रचलित मौलिक गीतको प्रवद्र्धनका लागि सहयोग गर्न पाउनुलाई सौभाग्यकै रूपमा लिएको बताउनुभयो ।
उहाँले गीत÷सङ्गीतमा रुचि राख्ने विद्यार्थीले सेलो रागमा सङ्गृहीत लिपि र रागमार्फत तामाङ मौलिक गीतहरू सजिलै सिक्न र गाउन सक्ने, तामाङ समुदायले मात्र अभ्यास गर्दै आएको फापरे भाका, सेलो भाका र खान्दोके भाकामा अन्य समुदायका गायक-गायिकाले पनि गाउन सक्ने भएपछि भाका र गीतको संरक्षण र प्रवर्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सेलो राग पुस्तकमा तामाङ मौलिक गीतमा आधारित नोटेसन र रागसहित ताल, थाँट, गमकलगायतका गीत, सङ्गीतका लागि महत्त्वपूर्ण पाटोबारे विस्तृत रूपमा उल्लेख गरिएको छ ।