• १३ मंसिर २०८१, बिहिबार

भारतीय मोडल नेपालमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २९ गते । ‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्गकार नेपाल आउनुभएको छ । तेस्रो संस्करणको ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२३’ मा प्रस्तिस्पर्धा गरिरहेका अन्तिम २१ प्रतियोगीमध्ये विजेता छान्न उहाँ बुधबार नेपाल आउनुभएको हो । उहाँले टप मोडल राउन्ड, स्विमर राउन्ड, प्री जज राउन्ड र फाइनलमा निर्णायकको भूमिका निर्वाह गर्नुहुने छ ।

“पटक पटकको प्रयासपछि नेपाल आइपुगेको छु । यसअगाडि कोरोनाका कारण नेपाल आउन सकेको थिइनँ । यो बसाइ मेरो लागि उपलब्धिमूलक हुने छ,” मौलिङ्गकारले भन्नुभयो, “हामी सुप्रानेसनल सबै परिवार हौँ ।” मौलिङ्गकारको नेपाल बसाइ नौ दिनको हुने छ ।

प्रतियोगितामा काठमाडौँसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका १७० जनाबाट ३६ जना छानिएका थिए । त्यसबाट छानिएका २१ जना प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको प्रतियोगितामा दुई पुरुष र दुई महिला गरी चार विजेता छानिने छन् । तीमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रानेसनल र मिस्टर इन्टरनेसनलमा सहभागिता जनाउने छन् । महिला विजेताले मिस सुप्रानेसनल र मिस ग्लोबमा सहभागी हुने अवसर प्राप्त गर्ने छन् ।