• ९ मंसिर २०८१, आइतबार

राजनीतिक अस्थिरताका कारण पाकिस्तानी रुपियाँको अवमूल्यन हुँदै

blog

इस्लामावाद, वैशाख २८ गते । पाकिस्तानी रुपियाँको मूल्य अमेरिकी डलरको तुलनामा उल्लेखनीय रूपमा घटेको छ । बुधबार अन्तर बैङ्क बजारमा ग्रीनब्याक २९०.२२ रुपियाँको अत्यन्त न्यून मूल्यमा कारोबार भएको स्टेट बैङ्क अफ पाकिस्तानले जनाएको छ ।

मङ्गलबार कारोबार अमेरिकी डलर २८४.८४ रुपियाँमा बन्द भएको थियो । बुधबार स्थानीय मुद्रा अमेरिकी डलरको तुलनामा ५.३८ रुपियाँ (करिब १.८५ प्रतिशत) ले घटेर न्यून रेकर्ड भएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

बजार विश्लेषकहरूका अनुसार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा राष्ट्रिय जबाफदेहिता ब्युरोले मङ्गलबार पक्राउ गरेपछि देशभर व्यापक विरोध भएको  र त्यसकै प्रभावले पैसाको अवमूल्यन भएको टिप्पणी गरिएको छ । 

दक्षिण एसियाली मुलुकमा चलिरहेको राजनीतिक अस्थिरतापछि अन्तर्राष्ट्रिय मुद्रा कोषको बेलआउट कार्यक्रमको पुनः सुरुवातमा आएको अनिश्चितता र विदेशी विनिमय सञ्चितिमा आएको कमीका कारण केही समयदेखि यहाँको रुपियाँ दबाबमा रहेको छ । रासस/सिन्ह्वा