• ९ मंसिर २०८१, आइतबार

व्यावसायिक बनेनन् ‘बायोपिक’

blog

सुकृत नेपाल 

काठमाडौँ, वैशाख २८ गते । विभिन्न क्षेत्रका सफल र चर्चित व्यक्तिहरूको जीवनीलाई लिएर ‘बायोपिक’ चलचित्र बनाउने परम्परा पुरानै हो । हलिउड र बलिउडमा मात्र होइन नेपाली चलचित्र उद्योगमा पनि यस्ता बायोपिक चलचित्रहरू बेला बेलामा बन्ने गरेका छन् । 

आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारित रहेर ‘आदिकवि भानुभक्त,” नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको ‘दासढुङ्गा’, ‘भजनसम्राट्’ भक्तराज आचार्यको ‘आचार्य’ गायक रामकृष्ण ढकालको ‘आशीर्वाद’, साहित्यकार झमक घिमिरेको ‘जीवन काँडा कि फूल’, सहिद भीमदत्त पन्तको ‘भीमदत्त’, युवा अभियन्ता सृष्टि केसीको ‘ब्लाइन्ड रक्स’ नेपालमा निर्माण भएका केही बायोपिक चलचित्र हुन् ।

भारतीय चलचित्र उद्योगमा पनि प्रशस्त सङ्ख्यामा बायोपिक चलचित्र बनेका छन् । जसले व्यावसायिक रूपमा उल्लेखीय व्यापार गरेका छन् । ‘महेन्द्र सिंह धोनी’ पान सिंह तोमर, साहिद, मेरी कोम, माझी : द माउन्टेन म्यान, ‘८३’ भारतमा बनेका बायोपिक चलचित्रका केही उदाहरण मात्र हुन् । 

विषयवस्तु राम्रो भए पनि कतिपय बायोपिक चलचित्रलाई दर्शकले रुचाएको पाइएको छैन । नेपालमा थुप्रै त्यस्ता व्यक्तिहरू छन्, जसको जीवनीमा बायोपिक बनाउन सकिन्छ । नेपालमा पहिलो पटक बनाइएको बायोपिक चलचित्रका रूपमा ‘आदिकवि भानुभक्त’ लाई लिइन्छ । २०५६ सालमा आदिकवि भानुभक्त निर्माण गर्न निर्देशक यादव खरेललाई झन्डै पाँच वर्ष लागेको थियो । “व्यावसायिक नाफाघाटा छोडेर समाजलाई काम लाग्ने केही फरक काम गरौँ भन्ने हेतुले आदिकवि भानुभक्त बनाएको हुँ,” खरेलले भन्नुभयो ।

उहाँ भन्नुहुन्छ, “बायोपिक बनाउन धेरै कुराको अनुसन्धान गर्नुपर्ने हुन्छ । छोटकरीमा एउटा कथामा चलचित्र बनाउन सजिलो होला तर एउटा मान्छेको जीवनीलाई पूरै चलचित्रमा देखाउनु धेरै गाह्रो काम हो ।” पहिला धेरै आर्थिक लाभका लागि बायोपिक बनाउन तम्सिए तर लगानी नै उठ्न धौ धौ भएपछि बायोपिक चलचित्रको घोषणा मात्र गरेर छाड्ने काम भयो, बायोपिकले युवावर्गलाई आकर्षित गर्छ र यो सीमित व्यक्तिले मात्र हेर्छन्, निर्देशक खरेल भन्नुहन्छ ।  

चलचित्रमा नायकको जिम्मेवारी भनेको गीत गाउने, नाच्ने, नायिकाको पछि पछि लाग्दै दुई/तीन दर्जन गुण्डालाई कुट्ने, समाजसँग विद्रोह गरी प्रेम जीवन सफल पार्ने हुन्थ्यो । यस्ता चलचित्रले  मनोरञ्जन त दिन्थ्यो तर समाज वा व्यक्तिको मानसिकतामा सकारात्मक रूपान्तरण ल्याउन सक्दैन्थ्यो । सत्य घटना वा जीवनीमा आधारित रहेर चलचित्र बनाई एक नयाँ विधा बन्यो ‘बायोपिक’ जसले दर्शकलाई मनोरञ्जन, ज्ञान र  सकारात्मक सोच दियो ।

चलचित्र समीक्षक अनुप सुवेदी ‘बायोपिक बनाउने काम धेरै गाह्रो भएर अहिले बायोपिक चलचित्रको चलन हराएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बायोपिक बनाउनेहरूले चलचित्रमा राम्रो कथा पस्कन नसकेर पनि यसमा कमी आएको हो । मान्छेको पूरा जीवनीलाई चलचित्रभित्र दुई घण्टामा अटाउन सक्नु भनेको चानचुने कुरा होइन ।” चलचित्र क्षेत्रमा बायोपिक बनाउन तम्सिनेहरूले निर्देशकीय पक्षमा अलि कडा मेहनत गर्नुपर्ने सुवेदी बताउनुहुन्छ । 

कुनै बेला निर्देशकको कल्पनाशीलताको सिप र कलाकारको अभिनय सन्तुष्टिका निम्ति बायोपिक बन्ने गर्थे तर अहिले निर्देशकहरू आफ्नो व्यापारिक फाइदाको लागि बायोपिक बनाउने गर्छन् । त्यसैले पनि अहिले जो कोही पनि बायोपिक चलचित्रमा लगानी गर्न डराउँछन् । बलिउडमा जस्तै नेपालमा पनि बायोपिक बनाउँदा केही मेहनत गर्ने हो भने बायोपिक चलचित्रको बजार खस्कँदै जाने थिएन ।