प्रणालीगत स्वरूप अलग भए पनि नेपालमा संसदीय अभ्यास चलेको साढे छ दशक भएको छ । यो सिलसिलामा संसद्ले काम गर्ने प्रक्रिया र सांसदले पालन गर्नुपर्ने कार्यविधि, नियम, आचारसंहिता विकसित भएका छन्, हुँदैछन् तर पछिल्ला समयमा संसद् बैठकमा भाषिक मात्र होइन, सामाजिक, नैतिक मर्यादा पनि स्खलित हुँदै गएको देखिएको छ ।
सांसदहरू एकअर्कालाई आरोप प्रत्यारोपदेखि घोचपेचमा उत्रिनु सामान्यजस्तै भएको छ । सांसदले प्रश्न उठाउने र मन्त्रीहरूले जवाफ दिने कतिपय शैली पनि संसदीय दृष्टिले अमर्यादित बन्दै गएको छ । हुँदाहुँदै कतिपय सांसदले सार्वजनिक नैतिकता र आचरण संसद् बैठकमै धुलोपिठो बनाउन थालेका छन् । ताजा उदाहरण सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा सांसद अमरेशकुमार सिंहले बोल्न पाउनुपर्ने माग गर्दै कम्मरभन्दा माथि नग्न हुनुभयो । सांसदको यस्तो विद्रुप प्रस्तुतिले बैठकको सुव्यवस्थामा प्रश्न मात्रै खडा भएन, सांसद नै नियमावली, आचारसंहिता, सामाजिक मर्यादाको सीमामा रहन नचाहने पात्रका रूपमा प्रस्तुत हुन खोजिरहेको भनाइ व्यापक भएको छ ।
संसदीय मर्यादालाई सांसदले नै लत्याएका सन्दर्भ निकै छन् । प्रतिनिधि सभा नियमावली २०७९ नियम २० मा सभा सदस्यले बैठकमा पालन गर्नुपर्ने नियम तोकिएको छ । नियम २१ मा छलफलमा पालन गर्नुपर्ने नियम छन् । यसको ‘घ’ मा ‘अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न नहुने’ उल्लेख छ । नियमावलीमा सभामुखको ध्यानाकर्षण गर्नका निमित्त उठ्नुपर्ने र सभामुखले नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने प्रबन्ध छ तर नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणले सदनमा प्राथमिकता पाउँदा बोल्न चाहने सांसद र आकस्मिक समय सकेसम्म कम गर्ने सभामुख देवराज घिमिरेको प्रयत्नले बैठक सञ्चालनमै अवरोध भइरहेको छ ।
सोमबार बैठकको समय व्यवस्थापनको प्रश्न त संसदीय मर्यादा र सभामुखको विशेषाधिकारसँगै जोडिन पुगेको छ । भुटानी शरणार्थी प्रकरणमा सांसदहरूले ढ्यापढ्याप टेबल बजाएर आकस्मिक समयमा आफ्ना विचार राख्न चाहनु स्वाभाविक हो तर बजेटका सिद्धान्त र प्राथमिकतामा छलफलका कारण शून्य समयबाहेक आकस्मिक समय नदिने बैठकअघि नै तय भएको थियो । तय भएको विधि अनि सभाको नेतृत्व सभामुखको विशेषाधिकारयुक्त समय व्यवस्थापनलाई चुनौती दिन अर्धनग्न नै प्रस्तुत हुँदा सांसद सिंहले असंसदीय, अमर्यादित, अनैतिक अर्थात् अपाच्य हुन्छ भन्ने हेक्का राख्नुभएन । बैठकको सुव्यवस्था कायम गर्नका लागि सदस्यले पालना गर्नुपर्ने नियमप्रति ध्यानाकर्षण गराउँदा पनि अटेर गरेपछि सभामुखले नियमावलीको नियम ३० अनुसार कारबाहीको चेतावनी दिएपछि सिंहले कपडा लगाउनुभयो ।
नेपाली समाजले नग्नता पचाउन सक्दैन । यो समाज अराजक नभई मर्यादित छ । शीलस्वभाव पारिवारिक शिक्षा हो । यही समाजको मत पाएर विजयी सांसदले किन सामाजिक प्रतिनिधित्व आफ्ना कार्य आचरणमा झल्काउँदैनन् ? नेपालको संसद्मा सांसदबिच हात हालाहाल, अन्तिम लहरमा बसेका सांसद कुर्ची फड्को मार्दै रोष्ट्रममा पुग्ने, महिनौँ संसद् बैठक अवरुद्ध पार्ने, बैठकमा माइक–कुर्ची तोडफोड, बजेट ब्रिफकेस तोडफोड, आफ्नो कपडा आफैँ च्यात्ने आदि असंसदीय गतिविधि, अशिष्ट, अमर्यादित, अनुपयुक्त, अपमानजनक शब्द प्रयोग बेलाबखत देखिने गरेका छन् । यस्ता गतिविधि हुन नपाऊन् भनेर कार्यविधि, नियमावली, आचारसंहिता बनाइएका छन् र कारबाहीको व्यवस्था पनि छ । असंसदीय, अमर्यादित व्यवहार गर्ने सांसदलाई बैठक कक्षबाट बाहिर निकाल्ने वा निलम्बन गर्ने बन्दोबस्त छ तर कारबाही यदाकदा मात्र हुने गरेको छ ।
संसद्का बैठक सञ्चालन गर्ने संसद्को नेतृत्व सभामुखले हो । सभामुखको अनुमतिबिना कसैले पनि सभा ‘बन्धक’ बनाउन मिल्दैन । ‘कुनै समिति (संसदीय) समितिको विचाराधीन विषयसँग कुनै सदस्यको प्रत्यक्ष व्यक्तिगत स्वार्थ वा हित गाँसिएको भए सो विषयको छलफल वा निर्णयमा सम्बन्धित सदस्यले भाग लिन हुँदैन’ भन्ने नियमसमेत बनाएर जननिर्वाचित सांसदलाई जनताप्रति इमानदारीपूर्वक तथा वस्तुनिष्ठ भई कर्तव्य पालना गर्नुपर्ने बन्दोबस्त गरिएको छ । नियमावलीको पूर्ण पालना तथा विद्यमान सार्वजनिक नैतिकता र आचरणअनुकूल व्यवहारले नै स्वयं सासदहरूको मर्यादा वृद्धि गराउने छ । कम्तीमा सांसदको औपचारिक पोसाक र लोगो लगाएर सडकमा हिँड्दा लाज नहोओस् । लोकतान्त्रिक पद्धतिको संस्थागत विकासको निम्ति संसदीय मर्यादा र अभ्यासलाई समृद्ध बनाउँदै लैजानु आफ्नो दायित्व हो भन्ने विषयमा विधायक गम्भीर हुनै पर्छ ।