• १३ साउन २०८१, आइतबार

थप एउटा मोबाइल ल्याउन पाइने

blog

काठमाडौं, वैशाख २७ गते । सरकारले विदेशबाट आउँदा थप एउटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले झिटीगुन्टा नियमावली संशोधन गरेर वैदेशिक रोजगारीमा गएका नेपालीलाई मोबाइल ल्याउने बाटो खोल्ने निर्णय गरेको हो । 

बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नियमावली संशोधन गर्ने निर्णय भएको बताउनुभयो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट निजी प्रयोगका लागि मोबाइल ल्याउन दिनेगरी समन्वय गर्न निर्देशन दिनुभएको थियो । 

सञ्चारमन्त्री शर्माले भन्नुभयो, “प्रधानमन्त्रीज्यूले विदेशबाट आउने यात्रुले थप एउटा मोबाइल ल्याउन पाउने निर्देशन दिनुभएको थियो । त्यो निर्देशन कार्यान्वयन गर्ने सन्दर्भमा यसलाई व्यवस्थित गर्ने एमडीएमएस प्रणाली पनि लागू गर्ने र वैदेशिक रोजगारीमा जानेले थप एउटा मोबाइल ल्याउन पाउने गरी निर्णय भएको छ ।”

उहाँका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक तयारी गरी लागू गर्ने निर्णय सरकारले गरेको छ । बैठकले सहकारी क्षेत्रमा देखिएको विकृति नियन्त्रण गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री शर्माका अनुसार सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गरिएको हो । 

त्यसैगरी नेपाल कृषि वन सेवा समीकरणको सचिव पदमा रेवतीरमण पौडेललाई बढुवा गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै नेपाल व्यापार एकीकृत रणनीति २०८० (एनआईटीएस) स्वीकृत गर्ने निर्णय भएको मन्त्री शर्माले बताउनुभयो । 

उहाँले ढल्केवर वाणगङ्गा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने र कोहलपुर वितरण केन्द्रका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक कारबाही चलाउनका निम्ति सम्बन्धित प्रशासकीय अधिकृतलाई तोक्ने निर्णय भएको बताउनुभयो । 

सरकारले ४४ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद् बैठकले वैशाख २० गतेको निर्णयअनुसार ४४ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको जानकारी दिएको छ ।