• १५ वैशाख २०८१, शनिबार

धान र मकैको बिउ वितरण

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, वैशाख २६ गते । भेरी नगरपालिकाले धान र मकैको बिउ वितरण गरेको छ । कृषि पेसाबाट आत्मनिर्भर किसानलाई अनुदानमा धान र मकैको बिउ वितरण गर्न थालेको हो । 

कृषि पेसाबाट जीविकोपार्जन गरेका किसानको आयआर्जनमा सुधार ल्याउन सावित्री धान आठ हेक्टर जमिनमा चार क्विन्टल र सुक्खा–३, ४० क्विन्टल उन्नत जातको धानको बिउ ५० प्रतिशत अनुदानमा, २४ हेक्टरमा मनकामना–५ जातको मकैको बउ उत्पादन गर्नका लागि छ क्विन्टल, आठ हेक्टरमा देउती मकैको उत्पादन गर्न दुई क्विन्टल मूल बिउ ५० प्रतिशत अनुदान सहयोगमा भेरी नगरपालिका कृषि विकास शाखाले वितरण गरेको छ । 

भेरी नगरपालिका–३, होलुखोलामा धानको बिउ सोही पालिकाको वडा नं.–१, कालेगाउँलाई धानको बिउ उत्पादन पकेट क्षेत्रबाट सङ्कलन गरी किसानलाई वितरण गरेको हो । नेपाल सरकारको कृषि अनुसन्धान फर्मले प्रमाणित गरेको भेरी नगरपालिका–७, रुपाकोट महिला बिउ उत्पादन कृषि सहकारी संस्थाले उत्पादन गरेको मनकामना र देउती मकैको बिउ सङ्कलन गरेको भेरी नगरपालिका कृषि विकास शाखाका प्रमुख यज्ञबहादुर अधिकारीले बताउनुभयो ।

पकेट क्षेत्र निर्धारण गरेका स्थानबाट मूल बिउ खरिद गर किसानको आयआर्जनमा सुधार ल्याउन पेसालाई मर्यादित, उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य लिएको छ । खाद्यमा सुरक्षित पालिका निर्माण, किसानलाई उत्प्रेरणा जगाउन कृषि विकास शाखाले अनुदान सहयोगमा बिउ वितरण गरेको शाखा प्रमुख अधिकारीले बताउनुभयो । 

कार्यालयले किसानको माग र आवश्यकतालाई मध्यनजर गरी मौसम अनुसार बिउबिजन, कृषि सामग्री वितरण गर्दै आएको छ । बालीमा समस्या परेको खण्डमा जतिबेला पनि प्राविधिक उपस्थित भएर समाधानका उपायको बारेमा जानकारी दिने कृषि प्राविधिक भोला खत्रीले बताउनुभयो । शाखा प्रमुख अधिकारीका अनुसार चालु आर्थिक वर्षमा ६० क्विन्टल देउती मकैको उन्नत बिउ वितरण गरी किसानलाई खाद्य बालीबाट आत्मनिर्भर गर्ने लक्ष्य लिएको छ ।