• ४ जेठ २०८१, शुक्रबार

प्रतिनिधि सभा बैठकमा कपडा खोलेर सांसद अमरेशकुमार सिंहको विरोध

blog

प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर विरोध जनाउनुहुँदै सांसद डा. अमरेशकुमार सिंह ।

काठमाडौं, वैशाख २५ गते । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर विरोध जनाउनुभएको छ ।

प्रतिनिधि सभा बैठकको सुरुमै बोल्नका लागि हात उठाउनुभएका सांसद सिंहले बोल्न समय पाउनुभएको थिएन । सांसदहरू सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्नुहुँदै  हात उठाएर उठ्नुभएको थियो । तर सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोली विरोध जनाउनुभएको हो ।

त्यससँगै संसदमा अन्य दलका सांसदहरू समेत बोल्न पाउनुपर्ने माग उठेका थिए । तर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लील, अपमानजनक व्यवहार नगर्न अनुरोध गर्नुभयो भने प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गर्नुभयो ।

अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी पनि उहाँले दिनुभयो । यससँगै सभामुखले शून्य समयको कार्यक्रम प्रारम्भ गर्नुभयो । हाल प्रतिनिधि सभा बैठक चलिरहेको छ ।