• १५ वैशाख २०८१, शनिबार

‘पेटी ठेक्का दिनु गलत’

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, वैशाख २५ गते । प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले विकास निर्माणका काम पेटी ठेक्कामा दिनु गलत भएको बताउनुभएको छ। राप्ती राजमार्ग अन्तर्गत रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ र १२ जोड्ने निर्माणाधीन पितिबाङ पक्की पुलको अनुगमनका क्रममा पूर्वमन्त्री शर्माले मुख्य ठेकेदारले भित्रभित्रै पेटी ठेक्का दिँदा समयमै काम सम्पन्न हुन नसकेको चर्चा गर्नुभयो। उहाँले कमिसनको नाममा पेटी ठेक्का दिने चलनले विकास निर्माणका काममा ढिलाइ भएको बताउनुभयो। उहाँले भन्नुभयो, “समयमै काम पनि हुँदैन, योजना अलपत्र हुन्छन्। निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसक्दा विकासको काममा अवरोध आएको छ।”

सांसद शर्माले अलपत्र अवस्थामा रहेको पुल निर्माण स्थलमा ठेक्का दिने कार्यालय, निर्माण कम्पनी, प्रमुख जिल्ला अधिकारी, स्थानीय सरकारका प्रतिनिधिलगायतसँग छलफल गर्नुहुँदै समयमै काम सम्पन्न गर्न र जनतालाई विकासको अनुभूति गराउन निर्देशन दिनुभयो। सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर अविनाश अर्यालका अनुसार संरक्षण निर्माण सेवासँग पुल निर्माणका लागि २०७६ असार ८ गते सम्झौता भएको हो। 

उहाँले २०७८ वैशाख ७ गते काम सक्नु पर्ने सम्झौता भए पनि हालसम्म पूरा हुन नसकेको बताउनुभयो। २०७९ असारमा सम्पन्न हुने गरेर म्याद थप गरे पनि उक्त म्याद गुज्रिसकेको छ। पाँच करोड २८ लाख रुपियाँ लागतमा निर्माण सम्पन्न गर्ने सम्झौता रहेकोमा हालसम्म १५ प्रतिशत मात्र वित्तीय प्रगति भएको इन्जिनियर अर्यालले बताउनुभयो। उहाँले निर्माण व्यवसायीलाई यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्न ताकिता गरिरहेको अन्यथा सम्झौता रद्द गर्ने सार्वजनिक सूचना आह्वान गरिसकेको समेत जानकारी दिनुभयो।

निर्माण कम्पनीका प्रतिनिधि लेकवीर घर्तीले आगामी असारभित्रै काम सक्ने गरी लागिपरेको बताउनुभयो। एकातर्फको फाउन्डेसन तयार भइसकेको र अर्कोतर्फको फाउन्डेसन तयार हुँदै गरेकोले समयमै निर्माण सम्पन्न हुने विश्वास रहेको घर्तीको भनाइ रहेको छ।